काठमाडौं । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका छन् ।
‘चिकित्सा शिक्षा ऐनकै कारण २०७७/०७८ मा कोसीमा ४, मधेसमा ६, वागमतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा १ गरी ७३ वटा कलेज बन्द भएका छन् । आयोगले शुरूमा २ सय २८ बन्द गरायो, त्यसपछि गएको आर्थिक वर्षसम्म ७३ बन्द भएका छन्’–सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले भने ।
आयोगको अत्याचार विरोधमा निजी कलेज सञ्चालक आन्दोलनमा उत्रिएका छन् । कलेज सञ्चालकहरू एक सातादेखि माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । ‘नेपालमा ४ सय २९ वटा निजी कलेजले सीटीईभीटीको सम्बन्धन लिएर स्वास्थ्यका प्राविधिक विषय पढाइरहेका थिए ।चिकित्सा शिक्षा ऐन आएपछि २२ वर्षअघिदेखि चलिरहेका नर्सिङ क्याम्पसहरू बन्द भएका छन्’ –संघर्ष समितिका संयोजक निर्मल सापकोटाले भने।
आयोगका विरुद्धमा शिक्षण संस्थाका सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक आन्दोलित भएका छन् । उनीहरूको मागलाई उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, निजी शिक्षालयको सबै छाता संगठनले समर्थन जनाएका छन्।