काठमाडौं । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्याएको छ।
यसरी धेरैले सम्झिन लायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उनी विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहेका छन्।
नेपाल रेडक्रस सोसाइटी धनुषा र जानकी आँखा अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका सिंहले भने, ‘सन् १९८२ मा भिन्न परिवेशमा यो अस्पताल स्थापना भयो, अस्पतालले यो स्तरमा आफ्नो पहिचान बनाउने कुरा धेरैले कल्पना गरेका थिएनन्, तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागत स्वरुप दिन उपचार केन्द्रका रुपमा सेवा सञ्चालन गरिएको थियो।’
जानकारका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा–केन्द्रको स्वरुप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो।
विसं २०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंह नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट सुरुआत भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँगाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गरेको उनीहरुको बुझाइ छ।
‘तत्कालीन समयमा आँखा स्वास्थ्य समस्याअर्थात् अन्धोपन निवारणका लागि नेपालका अरु भूभागमा जस्तै जनकपुरमा पनि आँखा शिविरलाई बृहत्स्वरुप दिई त्यसैलाई संस्थागत गरिएको हो’, अध्यक्ष सिंहले भने, ‘स्थानीय समाजसेवीको पहलकदमीमा रेडक्रसले पनि सहयोग एवं साझेदारी गरेपछि जानकी आँखा उपचार केन्द्रको संस्थागत विकास भएको देखिन्छ।’