काठमाडौं । प्रादेशिक अस्पतालसहित मधेस प्रदेशका आधा दर्जनभन्दा बढी अस्पतालमा करिब एक अर्ब मूल्य बराबरको उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल र कोभिड विशिष्कृत अस्पतालसहित प्रदेशका जिल्लास्थित अस्पतालमा संघीय र प्रदेश सरकारद्वारा खरिद गरिएका स्वास्थ्य उपकरणहरु प्रयोगविहीन बनेका हुन्।
प्रादेशिक अस्पतालसहित पर्साका नारायणी अस्पताल, रौतहटको गौरस्थित जिल्ला अस्पताल, महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पताल, सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, सिरहाको लहान र सिरहा अस्पतालमा गरी करीब एक अर्बभन्दा बढीको उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्।
प्रतिष्ठान अन्तर्गतका प्रादेशिक अस्पताल जनकपुरधाममै एक दर्जनको हाराहारीमा ६० करोडभन्दा बढीको मेसिन प्रयोगविहीन बनेका हुन्।
प्रादेशिक अस्पतालमा एमआरआई मेसिन, डीआर एक्सरे मेसिन, क्याथल्याब, ओपीजी, ईएमजी, डेक्सटा स्कान, अर्थोसिटी र मोनोग्राम लगायतका स्वास्थ्य उपकरण प्रयोगमा छैनन् । यस्तै प्रतिष्ठान अन्तर्गतकै कोभिड विशिष्टिकृत अस्पतालमा १८ बेड आईसीयू, आक्सिजन प्लानलगायतका उपकरण पहिल चरणकै कोभिडकालदेखि प्रयोगविहीन अवस्थामा रहेका छन्।