काठमाडौं । काठमाडौंको सानेपास्थित स्टार अस्पतालले हालसम्म दुई सय जोर्नी प्रत्यारोपण सफल रुपमा प्रत्यारोपण गरेको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
१०० शैय्याबाट सुरु भएको उक्त अस्पतालले अत्याधुनिक उपकरण तथा विशेषज्ञ सेवाहरुको दायरा फराकिलो बनाउँदै लगेको छ । यो संख्या हालसम्म गरिएको जोर्नी प्रत्यारोपणहरुमा अहिलेसम्मकै उच्च हो ।
हाल अस्पतालमा डा.दीर्घराज आरसी,डा.सुमन बाबु मरहठा,डा.राम ईश्वर यादव प्रत्यारोपण विशेषज्ञको रुपमा कार्यरत्त रहेका छन् ।
के हो जोर्नी प्रत्यारोपण ?
जोर्नी प्रत्यारोपण भनेको अर्थाेपेडिक सर्जरीको एक विशेष र भिन्ने विधा हो । हाम्रो शरीरका जोर्नीहरु विविध कारणले बिग्रन सक्छन् । धेरैजसो उमेरका कारण,कहिले बाहिरी रुपमा लाग्ने चोटपटकका कारण त कहिलेकाही संक्रमणका कारण जोर्नी बिग्रन सक्छ । जोर्नी बिग्रिसकेपछि शरीरमा अनेकौं लक्षण देखिन थाल्छन् जसले जीवन असहज बन्न पुग्छ ।
यस्ता जोर्नीहरुलाई सर्जरी गरेर मिलाउनु अथवा शरीरमा भएको बिग्रिएको जोर्नीलाई निकालेर कृत्रिम जोर्नी राख्ने प्रविधिलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ । नेपालमा धेरै जसो हिप र घुँडाको जोर्नी प्रत्यारोपण हुने गरेको छ । यी दुईमा पनि घुँडाको समस्या बढी छ ।
यदि कुनै पनि कारणले घुँडाभित्र रहेको आर्टिकल कार्टिलेज एक प्रकारको चिल्लो पदार्थ बिग्रेमा दुई वटा हड्डी एक आपसमा नजिक हुन्छन् र घोटिन थाल्छन्, जसलाई घुँडा खिइएको भनिन्छ ।
के कारणले खिइन्छ घुँडा ?
-उमेरका कारण
-पुरानो चोटका कारण
-बाथ रोग
-जोर्नीको संक्रमण
-रगत सम्बन्धि रोग जस्तै हेमोफिलिया
जोर्नी बिग्रने बितिकै यसको प्रत्यारोपण नै गर्नुपर्ने भन्ने होइन । सजिलो भाषामा भन्नुपर्दा सबैको जोर्नीमा समस्या आउँदैमा प्रत्यारोपण गरिदैंन । के कति कारणले जोर्नी बिग्रेको हो भन्ने हेरेर चिकित्सकको सल्लाह अनुसार मात्रै जोर्नी प्रत्यारोपण गरिन्छ ।