काठमाडौं -शरीरको तौल घटाउँदा स्वास्थ्यमा अनेकौं फाइदाहरु हुन्छन् । यसका लागि सन्तुलित भोजन उपभोग गर्नुका साथै आवश्यक मात्रामा व्यायाम गर्ने बानी बसाल्नु पर्छ । तौल घटाउनु भनेको दुब्लो भएर आकर्षक र छरितो देखिनु मात्र होइन, यसले तनावरहित र स्वस्थ जीवनशैली अपनाउन पनि मद्दत गर्छ । अध्ययन अनुसार, तौल घटाउने र नियमित व्यायाम गर्नाले तनाव घटाउन मद्दत गर्नुका साथै दैनिक कामको दबाब झेल्न पनि सजिलो हुन्छ ।
बढी भएको तौल घटाउँदा मोटोपनका कारण हुने सम्भावित मृत्युबाट धेरै हदसम्म बच्न सकिन्छ । बढी तौलको सम्बन्ध खास गरी उच्च रक्तचाप, मुटु सम्बन्धी रोगहरु र मस्तिष्कघातसँग रहेको हुन्छ । तौल ठीक कायम गर्ने हो भने विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी जोखिमहरुबाट बच्न सकिन्छ । यसबाट हुने अर्को महत्वपूर्ण फाइदा टाइप २ डायबिटिज, क्यान्सर र अस्टिओ आर्थराइटिसबाट बच्नु पनि हो । अध्ययनका अनुसार, फलफूल र हरिया तरकारीहरु प्रशस्त मात्रामा सेवन गर्दा क्यान्सरको सम्भावनालाई धेरै हदसम्म कम गर्न सकिन्छ । क्यान्सरमुक्त जीवन जिउनका लागि स्वस्थ खानाको निकै महत्व हुने कुरा अध्ययनहरुबाट प्रमाणित भएको छ ।
यस्तै चामललाई मिलमा कुटेर चिल्लो पा¥यो भने यसको बाहिरको फाइबरयुक्त भाग जति सबै निस्कन्छ । चिल्लो नपारेको चामलको भात पकाएर खाएमा मात्र फाइबर र कार्बोहाइड्रेट दुवै पाइन्छ । स्याउको बोक्रामा धेरै मात्रामा फाइबर पाइन्छ । स्याउलाई बोक्रा नताछी खानु लाभदायक हुन्छ । मुटुरोग, उच्च रक्तचापद्वारा पीडित, मधुमेही, रगतमा कोलेस्टेरोल बढी भएकाहरुका लागि रेसादार पदार्थ फाइदाजनक हुन्छ । यसले उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि घटाउँछ साथै शरीरको तौल पनि घटाउँछ । मोटोपन धेरै रोगको मूल जड हो । मोटाउने बित्तिकै रोग देखा पर्ने होइन, तर मोटोपन सुरु भएपछि शरीरमा विभिन्न रोगको बीजारोपण भने हुन्छ । रोग बढ्दै गएर कसैलाई छिट्टै र कसैलाई लामो समय पछि एकै चोटि गम्भीर रुपमा रोग देखा पर्छ । यस्ता रोगहरुलाई तौल घटाएर वा अनावश्यक तौल बढ्न नदिएर नियन्त्रण गर्न सकिन्छ । मोटोपन अप्रत्यक्ष रुपमा मृत्युको कारण भएकाले यसको नियन्त्रणका लागि आफैँ सचेत हुनु पर्छ ।
(जनस्वास्थ्यबिद्, अरुण उप्रतीको हेल्थ बुकबाट साभार)