काठमाडौं । अहिले हृदयाघातका घटनाहरु तिब्र रुपमा बढ्दै गएका छन् । यसको पछाडिको प्रमुख कारण उच्च कोलेस्ट्रोल पनि हो । हाई कोलेस्ट्रोल खराब जीवनशैली र खानपानका कारण उत्पन्न हुन्छ ।
नराम्रो बोसो वा ट्रान्स फ्याट भएको खानेकुरा हाम्रो धमनीमा जम्मा हुन सक्छ । त्यस पछि यसले ब्लकेज गराउन सक्छ र खराब रक्तसञ्चारका कारण हृदयमा दबाब सृजना हुन सक्छ।
यसबाहेक शारीरिक रूपमा सक्रिय नहुनु वा कुनै व्यायाम नगर्दा पनि यो समस्या बढ्न सक्छ । यस्तो अवस्थामा हामीले शरीरमा कोलेस्ट्रोलको वृद्धिलाई रोक्नु आवश्यक छ र यसका लागि कोलेस्ट्रोल परीक्षण गराउनुपर्छ।
कोलेस्ट्रोल परीक्षण के हो ?
कोलेस्ट्रोल परीक्षणलाई लिपिड प्रोफाइल परीक्षण पनि भनिन्छ । यसमा रगतमा भएका विभिन्न प्रकारका कोलेस्ट्रोल र बोसोको स्तर नापिन्छ । यसले हृदय रोग र स्ट्रोकको जोखिम कम गर्न मदत पुर्याउँछ ।
यो परीक्षणमा सामान्यतया LDL (लो-घनत्व लिपोप्रोटिन) कोलेस्ट्रोलको मापन समावेश हुन्छ जसलाई अक्सर खराब कोलेस्ट्रोल भनिन्छ। यससँगै ट्राइग्लिसराइडको स्तर पनि जाँच गरिन्छ।
कहिले जाँच गराउने कोलेस्ट्रोल ?
सामान्य मानिसको कोलेस्ट्रोल परीक्षणले उसले कति र कस्तो प्रकारको बोसो खपत गरिरहेको छ भनेर बताउँछ । २० वर्ष माथिका वयस्कहरूलाई प्रत्येक चार देखि छ वर्षमा कोलेस्ट्रोल परीक्षण गर्न सिफारिस गरिएकोछ।
यसले कोलेस्ट्रोल स्तर ट्र्याक गर्न र कुनै पनि सम्भावित जोखिम पहिचान गर्न मद्दत गर्दछ। यसबाहेक यो केहि मानिसहरूको लागि धेरै महत्त्वपूर्ण हुन्छ। जस्तै :
१. ४० वर्ष भन्दा माथिका मानिसहरूका लागि , किनभने यो उमेरका मानिसहरू बढी तनाव र अस्वस्थ जीवनशैलीबाट गुज्रिरहेका छन् ।
२. हृदय रोगको पारिवारिक इतिहास भएका धुम्रपान गर्नेहरूले यो परीक्षण नियमित रूपमा गराउनुपर्छ ।
३ . मधुमेह, उच्च रक्तचाप तथा मोटोपनबाट पीडित व्यक्तिहरूमा पनि यसको जोखिम उच्च हुन्छ।
४ . अस्वस्थ जीवनशैली र खानपान भएका मानिसहरूले नियमित कोलेस्ट्रोल जाँच गर्न आवश्यक छ । यसबाहेक कोलेस्ट्रोललाई असर गर्ने औषधि सेवन गर्ने व्यक्तिहरूका लागि पनि यो आवश्यक छ।
अन्तमा, हृदय रोग वा स्ट्रोक भएका व्यक्तिहरूका लागि लिपिड प्रोफाइल परीक्षण पनि आवश्यक छ । त्यसैले, आफ्नो कोलेस्ट्रोल जाँच गराइरहनुपर्छ । यसका अतिरिक्त उच्च कोलेस्ट्रोलबाट जोगिन स्वस्थ जिवनशैली तथा खानपानमा ध्यान पुर्याउनु पर्छ भने व्यायाम वा शारीरिक अभ्यासलाई निरन्तरता दिनुपर्छ ।