परिचय
बाल क्यान्सर भन्नेबितिकै बालबालिकामा हुने क्यान्सर भन्ने बुझिन्छ । जन्मेदेखी १८ वर्षमा हुने क्यान्सरलाई बाल क्यान्सर भनेर बुझिन्छ । जन्मेदेखी १८ वर्ष नहुँदासम्मका बालबालिकाको क्यान्सर उपचार हामी गर्ने गर्छौ ।
बालबालिकामा हुने क्यान्सर वयस्क मानिसहरुमा हुने क्यान्सर भन्दा भिन्न छन् । बालबालिमा हुने क्यान्सरमध्ये ल्युकेमिया एक प्रकारको क्यान्सर हो, जुन अधिंकाश बालबालिकामा हुने गर्छ । १० जना बाल क्यान्सरका बिरामीहरुमध्ये ८ जनालाई ल्युकेमिया अर्थात् रक्तक्यान्सर हुने गर्छ ।
रक्त क्यान्सर बाहेक बालबालिकामा ब्रेन ट्युमर,लिफोमा ,सार्कोमा,मृगौला, आँखाको क्यान्सर लगायतका क्यान्सरहरु हुने गर्छन् । बालबालिकामा हुने क्यान्सर वयस्कमा हुने क्यान्सर भन्दा भिन्न भएकोले यसको कारक तत्वमा समेत भिन्नता पाउन सकिन्छ । बाल क्यान्सर खानपान तथा जीवनशैलीका कारण हुँदैंन । बाल क्यान्सरको कारण अझै पनि पहिचान हुन सकेको छैन । यो अझै पनि अनुसन्धानको विषय बनेको छ ।
कस्ता बच्चाहरुमा क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ?
२५ प्रतिशत बालबालिकाहरुलाई वंशाणुगत कारणले क्यान्सर रोग लाग्ने गर्छ । डाउन् सिन्ड्रोम भएका बालबालिकाहरुमा क्यान्सर लाग्न सक्ने सम्भावना केही बढी हुन्छ । यस्ता बच्चाहरुमा रक्त क्यान्सर बढी मात्रामा हुने गरेको पाइएको छ । डाउन सिन्ड्रोमका बालबालिकामा रक्त क्यान्सर भएमा निको हुने दर राम्रो छ ।
गर्भवती आमालाई विकिरणको प्रभावका कारण बालबालिकामा क्यान्सर हुने सम्भावना हुन्छ । धुम्रपान तथा मद्यपान गर्ने आमाहरुका कारण पनि बालबालिकामा क्यान्सर हुन सक्छ । बालबालिकालाई फास्ट फुड अर्थात् जंग फुड धेरे खुवाउनाले त्यसको नकारात्मक असर उनीहरुलाई पर्न गई लामो समयपछि बच्चाहरुमा क्यान्सर हुने गर्छ । त्यस्तै विषादीको मात्रा मिसिएको फलफूल तथा तरकारीहरुको सेवनले पनि कालान्तरमा बालबालिकामा क्यान्सर हुन सक्छ ।
नेपालमा बाल क्यान्सरको अवस्था
नेपालमा वर्षेनी १५देखी १६ सय हाराहारीमा बालक्यान्सरका बिरामी थपिने गर्छन्। क्यान्सर भएर अस्पताल आउने बालबालिकाको संख्यालाई भन्ने हो भने ४देखी ५ सय बालबालिकाहरु मात्रै उपचारको दायराको आउने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका तथा जनचेतनाको अभावका कारण करिब १ हजार जना बालबालिकाहरु उपचारको दायरामा आउने गरेका छैनन्। बाल क्यान्सर वयस्क क्यान्सर जस्तो वार्षिक रुपमा परीक्षण गरेर पत्ता लाग्ने होइन। क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकलाई देखाइहालेमा बाल क्यान्सर पत्ता लगाउन सकिन्छ।
लक्षण देखिएको सुरुवाती अवस्थामा क्यान्सरको उपचार गर्न सकेमा उपचार प्रक्रिया सस्तो र प्रभावकारी हुन्छ । अझै पनि क्यान्सर भन्नेबितिकै डराउने अभिभावकको जमात ठूलो रहेको छ। उनीहरु क्यान्सर भएको स्वीकार गर्न नै तयार हुँदैंनन्। यद्यपि सुरुवाती अवस्थामा पत्ता लगाउन सकेमा क्यान्सर उपचार कम खर्चिलो र प्रभावकारी हुन्छ।
क्यान्सर उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ। छोरा बच्चाहरुलाई ३ वर्ष ३ महिनाको उपचारपश्चात् क्यान्सर निको हुन्छ भने छोरीहरुको हकमा २ वर्ष २ महिनाको उपचार आवश्यक पर्छ । छोराहरुमा अण्डकोषमा गएर पनि क्यान्सरका कोषहरु बस्न सक्ने भएकोले छोरीहरुको तुलनामा छोराहरुमा उपचारको प्रक्रिया लामो समयसम्म चल्छ ।
बाल बालिकालाई क्यान्सर उपचारको पहुँचभित्र ल्याउन के गर्नुपर्ला ?
सबैभन्दा महत्वपूर्ण भनेको जनचेतना बढाउन आवश्यक छ । आजभोली सुचनाका विभिन्न माध्यमहरुको प्रयोग गर्ने मानिसहरुको संख्या एकदमै बढ्दै गइरहेको छ । त्यसकारण सामाजिक सञ्जाल तथा आमसञ्चारका विभिन्न माध्यमहरुमा क्यान्सर रोगबारे जनचेतना फैलिने खालका सामग्रीहरुको प्रकाशन प्रसारण एकदमै आवश्यक छ । सञ्चार माध्यमहरु आउने गरेका विभिन्न जनचेतनाका कारण लक्षणहरुका आधारमा क्यान्सर हो होइन भनी पहिचान गर्न पनि कति अभिभावहरु हामीकहाँ आइपुगेका छन् ।
बाल क्यान्सर निको हुने दर कस्तो छ ?
वयस्कहरुमा हुने क्यान्सरभन्दा बालक्यान्सर निको हुने दर एकदमै राम्रो रहेको छ । बाल क्यान्सरको उपचारपश्चात् बालबालिकाहरु पूर्ण रुपमा निको हुन सक्छ । त्यसैले हामीले बालक्यान्सर सम्बन्धी विशेष दिनहरुमा जनचेतना दिने हिसाबले बाल क्यान्सर सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्ने गर्छौ । त्यसैले बाल क्यान्सर दिवसका दिन हामीले क्यान्सर रोग लागेर निको भइसकेका बालबालबालिकाहरुलाई जम्मा गरेर विभिन्न प्रकारका जचेतनामुलक कार्यक्रमहरु गर्ने गरेका छौं ।
बाल क्यान्सरको उपचारका लागि विदेश जानुपर्ने अवस्था छ कि छैन ?
आज करिब १० वर्ष आगाडिको कुरा गर्नुपर्दो क्यान्सरको उपचार गर्ने अस्पताहरुको संख्या एकदमै न्युन थियो । बालबालिकाको हकमा केमोथेरापी ,सर्जरी र रेडियोथेरापीको माध्यमबाट बाल क्यान्सरको उपचार हुने गर्छ । क्यान्सरको प्रकारको अनुसार उपचारको विधि फरक हुने गर्छ । लामो उपचार विधीमा केमोथेरापीको प्रयोग हुन्छ । यस्तो अवस्थामा सर्जरी र रेडियोथेरापीको आवश्यकता पर्दैन ।
अहिले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सरकारी अस्पतालमा समेत सबै प्रकारका क्यान्सरको उपचार हुन सक्छ । तर बाल क्यान्सरको उपचारका लागि विदेश धाउनुपर्ने अवस्था अहिले छैन ।
आजभन्दा करिब १० वर्ष अगाडि बालक्यान्सर पत्ता लगाउन तथा उपचार गर्न एकदमै गाह्रो थियो । हाल त्यस्तो अवस्थाको अन्त्य भएको छ । नेपाल क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि आएका जुनसुकै बिरामीहरुलाई उपचारका लागि बाहिर जानुपर्ने अवस्था छैन ।
क्यान्सर उपचारमा आएका बालबालिकाले किन पूर्ण उपचार गराउँदैंनन् ?
बाल क्यान्सरको उपचारका लागि काठमाडौं भन्दा बाहिरबाट आएका कतिपय बालबालिकाहरु पूर्ण उपचार नगरी घर फर्कन बाध्य हुन्छन् ।
काठमाडौंमा बस्ने तथा खाने ठाउँ नभएका कारण सरकारी अस्पतालमा निजी भन्दा सस्तो पाइने उपचार समेत उनीहरुको पहुँचमा हुँदैंन । क्यान्सर उपचारका लागि लामो समय लाग्ने भएका कारण काठमाडौं बाहिरका आर्थिक अवस्था कमजोर भएका बिरामीहरुका लागि उपचार सम्भव हुँदैंन । उनीहरुका लागि बस्ने संस्थाहरु मिलाउने तथा सस्तो औषधिको व्यवस्था गर्न सकेको खण्डमा यस्ता बिरामीहरुका लागि उपचार प्रक्रिया केही सहज हुन्थ्र्यो ।