काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गरेका छन् ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखाले अमेरिकी विकास नियोग ( युएसएआइडी) र सुआहाराको सहकार्यमा आईतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गरेका हुन् ।
उक्त मोवाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नेपालीको पोषण अवस्थामा सुधार ल्याउन ‘ मेरो पोषण साथी ’ मोबाइल एप उपयोगी हुने बताए ।
मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किनकि त्यसमा पौष्टिक तत्व हुन्छ । तर आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तिमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’ मन्त्री बस्नेतले सरकार र दातृ निकायले गरिरहेको लगानी वास्तविक उपभोक्तासम्म पुगिरहेको छ कि छैन भन्ने कुरामा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताइन ।कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता मिश्रले सबै नागरिकलाई एक्ला एक्लै परामर्श दिन सम्भव नभएको अवस्थामा यो एपले निरन्तर परामर्श र आवश्यक जानकारी प्रदान गर्न सजिलो बनाएको धारणा राखिन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले यो एपले अन्य स्वास्थ्य सेवाहरू जस्तैः गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन नयाँ आमाबाबु र तिनका परिवारलाई सघाउने विश्वास व्यक्त गरे ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्वपुर्ण र उपयोगी जानकारी पुर्याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताए । उनले ७३ प्रतिसत नेपालीको हातमा मोवाइल पुगेकाले मोवाइलको माध्यमबाट सूचना पु्र्याउन सहज र प्रभावकारी हुने भएकाले एप उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलोपटक आमा बन्दै गरेका महिलाहरुलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने बताइन ।
उनले भनिन, ‘ नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो । यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा युएसएआईडीको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ र नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआईडीले सधैं हातेमालो गर्नेछ । ’