काठमाडौं । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन ।
उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर, सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल ।
पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता बिस्तार र गुणस्तरीय सेवा सुविधामा विशेष ध्यान दिएको छ । जसको नतिजा अस्पतालको प्रदेशद्वारदेखि नै देख्न सकिन्छ । अस्पतालले निर्माण गरेको सुन्दर प्रवेशद्वार, पानीको फोहोरा र बगैँचाले अस्पतालको सुन्दरता बढाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालले शय्याको संख्या वृद्धि गर्ने, सेवा सुविधा बढाउने र सहज तथा सुलभ उपचार दिने उद्देश्य अनुरुप क्षमता तथा सेवा बिस्तारसँगै सौन्दर्यमा पनि विशेष ध्यान दिइएको जानकारी दिए ।
विसं २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको अस्पतालमा तत्कालीन समयमा १२ शय्याको आकस्मिक कक्ष थियो।
हाल त्यसलाई बढाएर ५० शय्याको अत्याधुनिक आकस्मिक कक्ष बनाइएको उनको भनाइ छ । साथै २० शय्याको सघन उपचार कक्षलाई बढाएर ३० शय्याको बनाइएको छ । हाल दुई ठाउँमा सघन उपचार कक्ष सञ्चालनमा छन्।
त्यति मात्रै होइन, १२ शय्याको बाल सघन उपचार कक्षलाई २० शय्या बनाइएको छ भने हाल अस्पतालमा छ शय्याको पिआईसियु पनि सञ्चालनमा ल्याइएको छ ।
यस्तै पहिलो पटक चार शय्याको सिसियु र तीन शय्याको ‘बर्न बार्ड’ सञ्चालनमा ल्याइएको छ । यही भदौबाट मुटुरोग विभाग पनि सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ।