डिप्रेसन भन्नाले मनमा निराशापन हुनु र निरशापनको भावनालाई बुझिन्छ। चिन्ताको गहिरो रुप डिप्रेसन हो । डिप्रेसन एक मानसिक रोग हो । केही समय उदास हुनु सामान्य नै हो तर कतिपय व्यक्तिमा निराशा र एक्लोपनले यतिसम्म घेरिरहेको हुन्छ कि महिनौंसम्म उनीहरु उदास भएर बसिरहेका हुन्छन् । डिप्रेसनका बिरामी नेपालमा मात्रै नभएर विश्वमै दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
चिन्ता र तनावका कारण शरीरमा कति हार्मोन्सको तह बढ्छ, जसमा एड्रिनलीन र कार्टिसोल प्रमुख छन् । लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ । यसले मानसिक रुपमा अनेकौं समस्या निम्त्याउने गर्दछ । यसको उपचार मानसिक विधीबाट मात्र संभव छैन । यसका लागि औषधी सेवनदेखि अनेक किसिमको उपचार अपनाउनुपर्ने हुन्छ ।
डिप्रेसन वयस्क एवं ठूलाहरुलाई मात्र नभई अहिलेको अवस्थामा बच्चाहरुमा पनि यसको जोखिम बढि रहेको छ । पहिला मानिसहरू डिप्रेसन भएको कुरा लुकाउने गर्थे भने अहिले खुलेर बाहिर आउने गरेका छन । यो राम्रो पक्ष हो । तर साइकोसिस भएर अन्तिम अवस्थामा पुगेको छ त्यसलाई पनि डिप्रेसन भनि बस्नु हुदैन । डिप्रेसनले तुरुन्तै त्यस्तो नकारात्मक प्रभाव नपार्ने र मानिसको ज्यान लिइ नहाल्ने भएकाले पनि धेरैले यस वास्ता नगरेको पाइन्छ । तर, बेलैमा यसको सही उपचार भएन भने ज्यानै जाने सम्भावना पनि हुन्छ ।
डिप्रेसन हुने कारण
डिप्रेसन एउटा मात्रै कारणले हुन्छ भन्ने छैन् । धेरै कारणले डिप्रेसन हुनसक्छ ।
१- वंशाणुगत प्रभाव ।
२- धेरै चिन्ता लिनु ।
३- गम्भीर स्वास्थ्य समस्या,
४- पारिवारिक कलह
५- कसैलाई गुमाउने पीडा
६- जीवनमा कुनै आकास्मिक दुर्घटनाको असर पर्नु, जसलाई मस्तिष्कले झेल्न नसक्नु ।
७- असफलता वा सोचे अनुकुलको काम नहुँनु
८- महिलामा सुत्केरी र महिनावारीको अवस्था पनि यसको कारण बनिरहेको हुन्छ ।
डिप्रेसनका लक्षण
डिप्रेसन हुँदा तुरुन्त लक्षण नदेखिन पनि सक्छ । तर, बिस्तारै यस्ता लक्षण देखिन सक्छ ।
१- निरन्तर चिन्ता लिनु
२- भ्रामक विचार वा नकारात्मक विचार मनमा आउनु
३- टाउको दुख्नु
४- मुटु काँप्नु , मुटुको धड्कन बढ्नु
५- कहिल्यै खुशी हुन नसक्नु
६- खानामा समस्या
७- डर लाग्नु
८- एक्लै बस्न मन पराउनु
९- ब्लड प्रेसर घटबढ हुनु , श्वास प्रश्वास छोटो हुनु
१०- स्वभाव चिडचिडा हुनु
११- काममा मन नलाग्नु
१२- कम बोल्नु
डिप्रेसन भएको कसरी थाहा पाउने ?
कुनै पनि विषयप्रति चाहना नहुनुका साथै कुनै पनि विषयमा खुसी महसुस हुँदैन । दैनिक क्रियाकलापलगायत अन्य महत्वपूर्ण क्षेत्रहरूमा समेत इच्छाहरू एकाएक घट्दै जाने गर्छ । यदि आवश्यकभन्दा बढी थकान हुनुका साथै अत्यन्त कम ऊर्जा महसुस हुनु वा बारम्बार उदासीनता, रातमा जति सुत्ने प्रयास गर्दा पनि निद्रा नलाग्ने, कुनै कुराको भयले पेट पोल्ने, खानेकुरा पटक्कै खान मन नलाग्ने हुन्छ । डिप्रेसन अत्यधिक मात्रामा भए व्यक्तिले आफूलाई महत्वहीन ठान्ने, जीवनमा भइरहेको उथलपुथलको दोष आफैंलाई दिने र त्यसबाट छुट्कारा पाउन आत्महत्याको विचारसमेत आउन थाल्छ ।
डिप्रेसन भएको अनुभव भए के गर्न सकिन्छ ?
आफुलाई डिप्रेसन भएको अनुभव भए वेवास्ता नगरि मनोचिकित्सक वा मनोविज्ञसँग परामर्श लिनुपर्छ । दैनिक ध्यान, योग, प्राणायाम गर्नु , शारीरिक परिश्रम हुने कसरत गरनाले दिमागलाई स्थिर गर्छ । आफ्नो समस्या बारेमा मनमिल्ने साथी वा परिवारलाई सेयर गर्ने , जाँड, रक्सी, धुमपानको लत छ भने छुटाउने प्रयास गर्ने , सामाजिक कार्यमा सहभागिता जनाउने, एक्लै नबस्ने ,सकारात्मक ऊर्जा मिल्ने पुस्तक,रमाइला संगीत, भिडियोहरू हेर्ने , यस्ता क्रियाकलापले मानिसको मुड बदल्ने र मनलाई उदासीबाट बाहिर निकाल्न मद्दत हुन्छ ।
डिप्रेसनका लागि दुई मुख्य प्रकारका उपचारहरू प्रयोग गरिन्छ, औषधि र थेरापी । उपचार व्यक्ति र डिप्रेसनको प्रकारअनुसार फरक९फरक हुन सक्छ । केहीलाई औषधि कोहीले व्यक्तिगत थेरापी आवश्यक पर्न सक्छ । यद्यपि, कुन प्रकारको उपचार उत्तम छ भनेर निर्धारण गर्न केही समय लाग्न सक्छ । यदि आत्महत्या वा आत्महानि वा अरूलाई चोट पुर्याउन चाहने भावनाहरू आउँछन् भने तत्काल अस्पतालमा भर्ना हुन आवश्यक हुन्छ ।