काठमाडौं । बियोण्ड बेइजिङ्ग कमिटी (बिबिसी) को आयोजनामा युवा महोत्सव कार्यक्रम सञ्चालन भएको छ ।उक्त संस्थाले अन्य ६ वटा संस्थाहरुसँगको सहकार्यमा उक्त महोत्सव कार्यक्रम सञ्चालन गरेको हो ।
यसको मुख्य लक्ष्य 'राइट हेयर,राइट नाउ' कार्यक्रम अनुसार विभिन्न काम गरिरहेका युवाहरुलाई एक आपसमा सिक्ने र सिकाउने स्थानको सृजना गर्नु रहेको छ ।
यस कार्यक्रममा बियोण्ड बेइजिङ्ग कमिटी तथा अन्य सहयोगी संस्थाहरुबाट विकास गरिएको सुचना तथा सञ्चार सामग्रीहरुको उद्घाटन गरिएको थियो । कार्यक्रमको दोस्रो भागमा युवा सहभागितालाई ध्यान दिई स्टल ,ऐक्यबद्धता रुख,ग्यालेरी वाल जस्ता विभिन्न मनोरन्जनात्मक कार्यहरु समेत गरिएको थियो।
संस्थाले राइट हेयर, राइट नाउ कार्यक्रममा युवा एवंम् बृहत यौनिकता शिक्षाको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । बियोण्ड बेइजिङ्ग कमिटीले महिला मानव अधिकारको क्षेत्रमा समेत विभिन्न कामहरु गर्दै आइरहकेो छ ।
संस्थाले विशेष गरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वामित्वमा रहेको परिवार कल्याण महाशाखासँग सहकार्य गर्दै महिला स्वास्थ्यको क्षेत्रमा समेत विभिन्न काम गरिसकेको उक्त संस्थामा कार्यरत्त सुष्मा श्रेष्ठ बताउँछिन् ।
यस संस्था सन् १९९५ मा चिनको राजधानी बेइजिङमा संयुक्त राष्ट्र सङ्घीय चौथो विश्व महिला–सम्मेलनले जारी गरेको “बेइजिङ घोषणा–पत्र तथा कार्यनीति” र यसका १२ सरोकारका विषयको जानकारी गराउने, प्रचार–प्रसार तथा प्रभावकारी कार्यान्वयनका लागि अधिवाचन, अभियान र विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
यस संस्थाले विभिन्नस्तरमा सचेतना फैलाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सञ्जाल विस्तार गर्ने, वकालत तथा दबाब सिर्जना गर्ने कार्यहरू निरन्तर रूपमा गर्दै आइरहेको छ ।