काठमाडौं । वायु प्रदुषणका कारण काठमाडौं उपत्यकामा मात्रै ५ हजार ८० जनाको मृत्यु हुने गरेको छ।
स्वास्थ्य पत्रकार मञ्च, यूएसएड स्वच्छ हावा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य पत्रकारसंग वायू गुणस्तर व्यवस्थापन र यसको सुशासन सम्बन्धी छलफल कार्यक्रममा यूएस एड क्लिन एयरमा कार्यरत वातावरण विद् भुषण तुलाधारले सन् २०१९ मा वायू प्रदुषणले मानव स्वास्थ्यमा पारेकोबारे गरिएको एक अध्ययनले नेपालमा वायू प्रदुषणले ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको बताए ।
जसमा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ८० जनाको मृत्यु वायू प्रदुषणका कारण हुने गरेको उनले बताए । उनका अनुसार यो तथ्यांक विभिन्न रोगका बिरामीको रोगको लक्षणमा वायू प्रदुषणको तत्वका आधार अध्यनन गरि तयार पारिएको हो ।
कार्यक्रममा यूएस एड क्लिन एयरकी अवान्तिका प्रियदर्शनीले वायू प्रदुषणले मानव शरीरका सम्पूर्ण अंगहरुमा नकाराकत्मक असर पर्ने बताईन् ।
टाउको दुख्ने, सास फेर्न गार्हो हुने, वाकवाकी लाग्नु, एलर्जी हुनु, आँखा पोल्नु, छाला सुख्खा हुनु, घाउ खटिरा आउनु वायू प्रदुषणको तत्कालिन असर रहेको बताईन् । उनका अनुसार स्ट्रोक, डिमेन्सिया, पार्किसन्स्, अल्जाइमर, इस्केमिक हृदयरोग लगायतका रोगको जोखिम बढी रहन्छ ।