गत वैशाख २६ गते भरतपुर महानगरपालिका पार्वतीपुरका बटुकलाल तामाङकी दिदीको कोरोनाभाइरसका कारण चितवन मेडिकल कलेजमा मृत्यु भयो। अस्पतालबाट शव घाटसम्म लगेर अन्तिम संस्कार गर्न २९,००० रुपैयाँ खर्च भएको उनले बताए।
लामाका अनुसार शववाहनका लागि ६,००० रुपैयाँ, दाउराका लागि १०,००० रुपैयाँ, दाहसंस्कारका लागि ११,००० रुपैयाँ र शववाहनबाट चितासम्म लगेको २,००० रुपैयाँ गरी त्यति रकम तिर्नुपरेको थियो।
घरपरिवारका सदस्य गुमाउनु पर्दाको दुःखद घडीमा दाहसंस्कार गर्न चर्को मूल्य तिर्नुपर्दा पीडामाथि झन् पीडा थपिने गरेको मृतकका आफन्तहरूले बताएका छन्।
बिरामीको उपचार खर्च असाध्यै महँगो भएको तथा सरकारी अस्पतालमा शय्या पाउन कठिन रहेको गुनासो धेरैले गर्ने गरेका छन्।
अहिले शोक परेको बेलामा सरकार भएको अनुभूति गर्न नपाएको लामाले बताए।
प्रशासनको अनुरोधमा 'शुल्क घटाएको'
कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनमा चर्को मूल्य चुकाउनुपरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा जिप्रकाको अनुरोधपछि २८,००० रुपैयाँ लिँदै आएको शुल्क घटाएर अहिले १८,००० रुपैयाँ लिने गरेको एम्बुलेन्स चालक सङ्घका अध्यक्ष नवराज लामिछानेले बताए।
उनका अनुसार पहिला शववाहनको भाडा, दाहसंस्कार र दाउराको खर्चसहित कुल २८,००० रुपैयाँ लिने गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयले शव व्यवस्थापनको शुल्क निर्धारण नगरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
सेनाद्वारा शव व्यवस्थापन
कोरोनाभाइरसबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन नेपाली सेनाले पनि गर्दै आएको छ। कतिपयले शव वाहनमा लगेर आफैँ व्यवस्थापन पनि गर्दै आएका छन्।
चितवनको विभिन्न अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूलाई नेपाली सेनाले पनि व्यवस्थापन गर्दै आएको छ।
नेपाली सेनाले अस्पतालबाट दाहसंस्कार गर्ने स्थलसम्म पुर्याइदिने काम गर्ने गरेको कालीबहादुर गणका गणपति विज्ञान खनालले बताए।
दाहसंस्कारलाई आवश्यक पर्ने दाउरा लगायतका सामग्री मृतकका आफन्तले व्यवस्था गर्नुपर्ने उनले बताए।
शव व्यवस्थापनका लागि गणको स्थानीय स्तरमा १० जनाको समूह तयारी अवस्थामा राखिएको र शव व्यवस्थापन बिहान १० बजे र दिउँसो ४ बजेको समयमा गर्ने गरिएको गणपति खनालले बताए।
सरकारको 'सहयोग छैन'
शव व्यवस्थापनमा शुल्क बढी लिएको गुनासो आएपछि भरतपुर महानगरपालिकाले आफ्नै स्रोतबाट शव व्यवस्थापनको लागि निःशुल्क शववाहन सेवा, शव गाड्नको लागि एक्साभेटर र चालकको व्यवस्थाका साथै शव जलाउन चाहनेहरूलाई दाउराको लागि ३,००० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको महानगर प्रमुख रेणु दाहालले बताइन्।
कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको अन्तिम संस्कारका लागि सरकारबाट बजेट विनियोजन नगरिएकाले समस्या उत्पन्न भएको उनले बताइन्।
कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको भरतपुर महानगर-१ को वागीश्वरीनजिकै नारायणी नदीको किनारमा अन्तिम संस्कार गरिँदै आएको छ।
बिबिसी