काठमाडौं । डेंगु संक्रमणबाट सुदुरपरिश्चम प्रदेशमा मात्रै एक सातामा दुई जनाको मृत्यु भएको छ ।
कञ्चनपुरमा एक युवा र हिमाली जिल्ला दार्चुलामा १ किशोरीको डेंगुबाट मृत्यु भएको हो। कञ्चनपुरको बेलौरी नगरपालिका-८ का २७ वर्षीय हिक्मत खत्रीको डेंगु रोगको संक्रमणले मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।
डेंगु रोगको संक्रमणपछि धनगढीस्थित अस्पतालमा उपचार गर्ने क्रममा भदौ ११ गते खत्रीको मृत्यु भएको उनले बताए।
युवकको मृत्यु भएको ५ दिनपछि हिमाली जिल्ला दार्चुलामा पनि डेंगुले एक किशोरीको ज्यान गएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुला महाकाली नगरपालिका वडा नं-९ दत्तु बस्ने १४ वर्षीय किशोरी जेलिना चैसिरको डेंगुले मृत्यु भएको बताए।
राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा जेलिनाको डेंगुको संक्रमणले भदौ १६ गते मृत्यु भएको हो । हिमाली जिल्ला दार्चुलामा डेंगु रोगको संक्रमणले मृत्यु भएको यो पहिलो पटक हो।
केही वर्ष अघि सम्म लामखुट्टे नै नदेखिने हिमाली जिल्ला दार्चुलामा डेंगु रोगको संक्रमण सबैभन्दा बढी फैलिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा गत जनवरी देखि फाटफुट रुपमा देखा परेको डेंगु रोगको प्रकोप पछिल्ला दुई तिन साता यता तीव्र रुपमा बढेको छ।
जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १ सय २९, अप्रिलमा २५, मे मा २२, जुनमा २६, जुलाईमा ५८ जनामा डेंगु रोगको संक्रमण देखा परेकोमा अगस्ट एकै महिनामा ३ सय ६५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति जोशीले बताए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ६ सय ९२ जनामा डेंगु रोगको संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।