र्निसंग अफिसर रेगिना कट्टेल
काठमाडौं- कुनै व्यक्तिलाई क्यान्सर लागेको थाहा पाए भयानक परिस्थितीको सिर्जना हुनसक्छ । क्यान्सरको पहिलो स्टेज अथवा निको हुने अवस्था भएपनि क्यान्सर भनेपछि हरेक व्यक्ति त्रसित हुने गर्छन् । क्यान्सरका बिरामीहरु धेरै तनाव ग्रस्त हुन्छन् । उनिहरुमा आफुलाई केहि भइहाल्ने हो कि भन्ने डर, उपचार गराउँदा लाग्ने खर्च वा आर्थिक भारले गर्दा मानसिक तनाबमा हुन्छ । त्यस्तै अन्य भावनात्मक समस्याहरु पनि देखापर्न थाल्छन् ।
क्यान्सर भएपछि उपचारका लागी बारम्बार अस्पताल धाउनुपर्ने हुन्छ । समय समयमा अस्पताल गइरहनुपर्ने भएकाले बिरामीमा मानसिक तनाव बढ्न थाल्छ । त्यसैगरी शरिरमा देखापर्ने परिर्वतनका कारण पनि बिरामी तनावमा हुन्छन् । आम क्यान्सरका बिरामीले यस्ता समस्या अनुभव गर्न सक्छन् ।
भनिन्छ, रोगको पिडा भन्दा त्यसले दिने मानसिक समस्या भयावह हुन्छ । क्यान्सर लागेपछि सोच्दै नसोचेको नौलो परिस्थितीको सामना गर्नुपर्ने हुन्छ । जसका कारण बिरामीको व्यवहार परिर्वतन हुनसक्छ । रिस उठ्ने, चिडचिडाहट हुने, थकाई लाग्ने, दुखको अनुभुति भइरहने, सोचाई बढि हुने तथा निद्रा नलाग्ने जस्ता समस्या बढि हुनाले बिरामीले कम्जोरी महशुस गर्छन् । यस्ता मानसिक समस्या जटिल बनेपछि बिरामीलाई नकारात्मक सोच आउँन सक्छ ।
मानसिक अस्वस्थता हुँदा देखा पर्ने लक्षणहरु
केहि गर्न नसक्ने, अर्थहिन र निराश भएको महशुस गर्ने र बारम्बार भनिरहने
आफुलाई मनपर्ने कुराबाट बिस्तारै रुचि हराउँदै जाने
प्राय एक्लै बस्न र नजिकका व्यक्तिसँग पनि बोलचाल नगर्ने
सधैँ झोक्राएर बस्ने
दिक्क मान्ने झर्को फर्को गर्ने
कुनै किसिमका आश्चर्यजनक घटना नभएपनि अति खुशि वा दुखि हुने
यस्ता लक्षण देखापरेमा आफुले विश्वास गरेको व्यक्तिसँग आफ्नो कुरा राख्नुपर्छ । यस्तो बेलामा तत्काल कुरा गर्नु वा परामर्श लिनु आवश्यक हुन्छ । त्यसैले सम्बन्धित चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
(र्निसंग अफिसर कट्टेल नेपाल क्यान्सर अस्पतालमा कार्यरत छिन् ।)