नेपालगन्ज । बाँकेमा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्न थालेको देखिएको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहनुभएका कन्सल्टेन्ट फिजिसियन डा।खगेन्द्रजंग शाहले जानकारी दिनुभयो । विगत दुई सातादेखि इन्फ्लुएन्जा हुने क्रम बढेको उहाँको भनाई छ । अस्पतालले उपचारका लागि आएका बिरामी मध्येबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउने गरेको छ ।
साप्ताहिकरुपमा पठाउने गरिएको नमुनामा इन्फ्लुएन्जा देखिने क्रम बढ्दै गएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिनुभयो । इन्फ्लुएन्जाको संक्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिन्छन् । ‘पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या ह्वातै बढेको देखिन्छ । परीक्षण गरेका मध्ये ४० प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामीको बढ्दो क्रममा रहेको प्रयोगशाला प्रमुख मिश्रले बताउनुभयो ।
मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो । इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा ‘फ्लु’ भनेर बुझिन्छ । सामान्यतः नेपालमा फागुन–चैत र साउन–भदौमा ‘फ्लु’ संक्रमण बढी देखिने गरेको छ । इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ ।
‘यो निकै सङ्क्रामक हुन्छ । संक्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ । बिरामीको नजिक जानु नै पहिलो जोखिम हो,ु डा। शाहले भन्नुभयो । ‘परिवारको एक सदस्यबाट अरुमा, स्कुल र होस्टलका विद्यार्थीमा एक अर्कोमा सर्ने जोखिम अत्यधिक हुने पनि उहाँको भनाई छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा।राजन पाण्डेले दैनिक रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढ्दो रहेको बताउनुभयो । उहाँका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ । भेरी अस्पतालको बहिरङ्ग सेवामा जाँच गराउन आउने मध्ये ३०(३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यस मध्ये अधिकांशमा इन्फ्लूएन्जा पुष्टि हुने गरेको छ ।
फ्लु निकै सङ्क्रामक हुने र लक्षण देखिएका सबै व्यक्ति परीक्षणका लागि नआउने भएकाले सङ्क्रमितको सङ्ख्या अस्पतालमा देखिएको भन्दा धेरै हुनसक्ने डा। पाण्डेको भनाई छ । यो समय मौसमी बिरामी देखिनु सामान्य भए पनि सङ्ख्या धेरै हुनु असामान्य भएको उहाँको भनाई छ । भाइरसको एउटा प्रकारलाई ‘इन्फ्लुएन्जा’ भनिन्छ । मौसम परिवर्तनमा हुने समयमा लाग्ने रुघाखोकी नै ‘इन्फ्लुएन्जा’ अर्थात् मौसमी फ्लु हो ।
फ्लुका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने, शरीर दुख्ने जस्ता लक्षण देखिन्छन् । त्यस्तै आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।