विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक–फरक भूमिकामा पुग्छन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वाभाविक हो । विवाहअघि मनोवैज्ञानिक धरातलमा एक–अर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–प्रेमिका जब पति–पत्नीमा परिणत हुन्छन् तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । हाम्रै समाज सापेक्षतामा हेर्ने हो भने विवाहपश्चात् पति मालिक बन्छ पत्नी वस्तु बन्छे अनि मालिकको इच्छा पूरा गरिदिनु वस्तुको कर्तव्य हुन्छ ।
प्रेम करुणा होइन भावना हो, यो हरेक मानिसको जीवनको हिस्सा हो । जीवन भनेको शरीर होइन, मानिसको भोगाइ हो । एउटा व्यक्तिको जन्मदेखि मृत्युसम्मका भोगाइ र अनुभूतिको समग्रता नै त्यो व्यक्तिको जीवन हो, जसमा प्रेम पनि पर्छ । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेमबिनाको जीवन अपूर्ण मात्र हुँदैन, प्रेमबिनाको जीवनको कल्पना नै गर्न सकिँदैन ।
प्रेम र जीवन एक–अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई शाश्वत सत्य भनिएको हो, तर पनि कतिपय मानिस कृत्रिम सत्य (जो हामी आँखाले देखिरहेका छौँ) को आडमा शाश्वत सत्यलाई ढाक्न खोज्छन् । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक धरातलमा मात्र छ । मनोवैज्ञानिक धरातलप्रति मानिसहरू उदासीन छ । जब कि प्रेम सामाजिक विषय होइन यो त विशुद्ध मनोवैज्ञानिक विषय हो ।
प्रेम र यौन
कतिपय मानिस प्रेम र यौनलाई छुट्टा–छुट्टै रूपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरू यौनलाई प्रेमको विपरीत मान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरू त यौनलाई विकृति नै पनि भन्छन् । आफू यौन समागमबाटै जन्मिएर पनि यौनलाई छि:छि: र दूरदूर गर्ने विद्वत् वर्ग पनि ठूलै छ । यद्यपि यौन र प्रेम फरक विषय होइनन् । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रूप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्न सकिँदैन ।
प्रेमबिनाको यौन र यौनबिनाको प्रेम दुवै अपूर्ण हुन् । आफूलाई आदर्श प्रेमका पक्षधर मान्नेहरू प्रेममा यौनको छिटा नै पर्न नहुने भन्ने धारणा राख्छन्, तर तिनीहरू के बुझ्दैनन् कि प्रेममा यौनको अंश नहुँदो हो त विपरीत लिङ्गसँग प्रेम हुने नै थिएन । सायद यस्ता दृष्टिभ्रम भएकाहरू प्रेमलाई करुणाको तहमा मात्र बुझ्न सक्छन् । विपरीत लिङ्गबाहेक अरूसँग हुने प्रेम भावनाको भन्दा पनि करुणाको तहमा हुन्छ । भावनात्मक निकटताको प्रेम विपरीतलिङ्गी प्रेम हो र त्यसमा कुनै न कुनै रूपमा यौनको घुलन हुन्छ । चाहे त्यो शारीरिक तहमा होस् वा मनोवैज्ञानिक तहमा नै किन नहोस् ।
यौनलाई शारीरिक आनन्दको क्रियाकलाप मान्ने र बुझ्नेहरू पनि छन् । पछिल्लो समय विश्वका कतिपय देशमा यौन पर्यटनका कुरा आइरहेका छन् । विश्व यौनबजारमा यौन पारखीहरूको मेला चलेको छ, तर यी बजारमा बिक्री हुने यौन सतही आनन्दका कुरा हुन् । जहाँबिना प्रेम यौन समागम हुन्छ त्यसबाट चरम आनन्द प्राप्त हुन सक्दैन । यौनमा ऊर्जा चाहिन्छ । बजारको यौनमा ऊर्जा हुँदैन किनभने त्यहाँ मन हुँदैन, शरीर मात्र हुन्छ, मन नभएपछि प्रेम हुँदैन, बिनामनको शरीरले यौनमा ऊर्जा दिन सक्दैन । बिनाप्रेमको यौनले ऊर्जा समाप्त गरिदिन्छ । प्रेमसहितको यौनमा मात्र ऊर्जा थपिन्छ । त्यसैले जुन यौन समागममा प्रेम छैन त्यसमा चरम सुख छैन । शरीरले यौनको वास्तविक आनन्द लिन सक्दैन । शरीरले लिएको आनन्द सतही आनन्द मात्र हो । यौनमा आनन्दका लागि मानिस शारीरिक रूपमा भन्दा मनोवैज्ञानिक रूपमा सबल हुनु आवश्यक छ ।
प्रेम र विवाह
प्रेम र विवाह विल्कुलै भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्छन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्ध विवाहमा परिणत भैरहेका छन् । विवाहमा परिणत भएका यी प्रेमकहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । यद्यपि प्रेमजस्तो स्वत:स्फूर्त विषयलाई विवाहजस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाहिँ कसैले विचार गरेको पाइँदैन ।
विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक–फरक भूमिकामा पुग्छन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वाभाविक हो । विवाहअघि मनोवैज्ञानिक धरातलमा एक–अर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–प्रेमिका जब पति–पत्नीमा परिणत हुन्छन् तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । हाम्रै समाज सापेक्षतामा हेर्ने हो भने विवाहपश्चात् पति मालिक बन्छ पत्नी वस्तु बन्छे अनि मालिकको इच्छा पूरा गरिदिनु वस्तुको कर्तव्य हुन्छ ।
विवाहपछिको प्रेम
नेपाली समाज पूर्वीय धर्म, संस्कृति एवं परम्परामा आधारित छ । पश्चिमा संस्कृतिमा झैँ प्रेमको मामिलामा हाम्रो समाज त्यति पूर्ण उदार छैन । हाम्रो समाज भन्छ– ‘विवाहपश्चात् पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र प्रेम गर ।’ विवाहपश्चात्को परपुरुष वा परस्त्री प्रेमलाई हाम्रो समाज पचाउँदैन । सामाजिक आँखाले हेर्दा विवाहपश्चात्को परपुरुष/स्त्री प्रेम अनैतिक देखिन्छ, कारण यसले सामाजिक मूल्य–मान्यतालाई ध्वस्त पारिरहेको छ । प्रेम गर्नेहरू कर्तव्यविमुख भैदिँदा वा उत्छृङ्खल हुन पुग्दा समाजको नकारात्मक धारणालाई अन्यथा मान्न पनि सकिँदैन ।
यद्यपि हाम्रो सामाजिक मान्यतालाई थाति राखेर सोच्दा विवाहपछिको प्रेम पनि स्वाभाविक ठहर्छ । विवाहपछि पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र माया गर्नुपर्छ भन्ने कुरा सामाजिक रूपमा जति प्रिय लाग्छ, मनोवैज्ञानिक आँखामा त्यत्तिकै अप्राकृतिक पनि देखिन्छ । प्रेम गर्न मनको आकर्षण चाहिन्छ । कुनै व्यक्तिबीच मनको आकर्षण छैन, चाहे ती पति–पत्नी नै किन नहुन्, त्यहाँ करुणा र दयाको प्रेम त बाँकी रहला तर भावनात्मक प्रेम हुँदैन । भावनाको प्रेम भनेको जोसँग मनको आकर्षण हुन्छ त्यहीसँग हुने कुरा हो । यसकारण पति वा पत्नी दुवैले आफ्नो पति/पत्नीबाट प्रेम प्राप्त गर्न आफ्नो विवाहको लाइसेन्स तेस्र्याएर अधिकार खोजेर हुँदैन भावनात्मक मायाले एक–अर्कालाई जित्न सक्नुपर्छ ।
प्रेमका विश्लेषकहरू भन्छन्– ‘प्रेम भनेको सम्बन्ध होइन, मनस्थिति हो ।’ कसैले तोकिदिएको व्यक्तिसँग सम्बन्ध त होला तर प्रेम हुन सक्दैन, किनभने समाजले तोकिदिएको व्यक्तिसँग आफ्नो मन नजोडिन सक्छ । प्रेम बुद्धिको विषय होइन, जसमा दिमागले काम गरोस् । प्रेम त हृदयको विषय हो । प्रेमले सामाजिक नियम मान्दैन, यसले न त विज्ञानका तर्क र प्रमाणहरूलाई नै स्थान दिन्छ । ह्दयको विषय भएकाले प्रेम निर्बन्धन बगिरहन्छ जताततै । भनिन्छ– ‘प्रेम गर्ने मन अराजक हुन्छ ।’
प्रेम र समाज
प्रेम के हो भन्ने विषयमा हरेक समाजका आ–आफ्नै धारणा छन् । कुनै समाज प्रेमप्रति उदार हुन्छ त कुनै समाज अनुदार । हाम्रो समाज प्रेमप्रति मिश्रित धारणा राख्छ । कुनै समय थियो, प्रेम गर्नुलाई उत्ताउलोपनको संज्ञा दिइन्थ्यो । प्रेमविवाह गर्नेलाई ‘पोइल गएको’ भन्ने पुस्ताको अवशेष अझै बाँकी छ । नयाँ पुस्ताले प्रेमविवाहलाई ‘पोइल गएको’ त भन्न छोड्यो, तर पनि प्रेमलाई हेर्ने आँखा भने असामजिक नै छ । कुनै व्यक्तिले कसैसँग प्रेम गर्यो भने कोसँग प्रेम गर्यो ? कस्तो मानिससँग प्रेम गर्यो ? प्रेम गरेको मानिस कति धनी हो ? प्रेम गरेको मानिस प्रतिष्ठित हो कि होइन ? आदि जस्ता प्रश्न अझै पनि उठिरहेका छन्, तर मन त्यस्तो यन्त्र होइन जसले समाजले तोकिदिएको प्रतिष्ठित र धनी मानिससँग प्रेम गरोस् । मनले त त्योसँग प्रेम गर्छ जोसँग मनको निकटता हुन्छ । धन, प्रतिष्ठा र पद त मनका विषय नै होइनन् मात्र समाजका विषय हुन् । यसकारण प्रेम सामाजिक विषय होइन, मनोवैज्ञानिक विषय हो भनेर स्वीकार गर्ने हो भने प्रेमलाई मनोवैज्ञानिक आँखाले नै हेर्नुपर्छ । सामाजिक बन्धनमा प्रेम टाक्सिन्छ । मनोवैज्ञानिक धरातल नै प्रेमका लागि उर्वर भूमि हो ।
प्रेम र समाज न छुट्ट्याउन सकिने न मिलाउन सकिने जस्ता विषय हुन् । प्रेम सामाजिक मानिसले नै गर्ने भए पनि प्रेमको महासागरमा डुब्दै गएपछि त्यो सामाजिक मानिस पनि मनोवैज्ञानिक बन्छ र समाजलाई पूर्णत: भुलिदिन्छ । प्रेमलाई सामाजिक धरातलमा न्याय नमिल्ने भएकाले नै प्रेमिप्रेमिकाहरू समाजलाई भुल्छन् । हाम्रो जस्तो सामाजिक आँखाले त प्रेमलाई चिन्नै सक्दैन । त्यसैले हाम्रो समाज प्रेमको साधक होइन, बरू बाधक हो ।
के प्रेम स्वच्छन्द छ भन्दैमा जसले जहाँ जोसँग पनि प्रेम गर्न सक्छ त ? यो प्रश्नको उत्तर त्यति सरल छैन तर असम्भव पनि छैन । हरेक मानिसमा प्रेम तत्त्व छ र त्यो तत्त्व अर्को त्यस्तै तत्त्वगत निकटता भएको मानिससँगको भावनात्मक अनुभूतिले मात्र ब्युँझन्छ, न कि समाजले तोकिदिएको मानिससँग ब्यूँझियोस् । एउटा व्यक्तिको शरीरलाई अर्को व्यक्तिको शरीरसँग निकट हुन वा टाढा रहन बाध्य पार्न वा बन्देज लगाउन सकिएला तर के उनीहरूबीचको मनलाई बन्देज लगाउन सकिन्छ ? सकिँदैन । बन्देजका जतिसुकै बलिया सामाजिक पर्खाल भए पनि मनले तोडिदिन्छ । मानिसको अवचेतन मन समाजको त कुरै छाडौँ स्वयम् आफ्नो वशमा समेत हुँदैन । तब मनमाथि बन्देज किन ? के बन्देजले प्रेम रोकिएको छ र ?