काठमाडौं ।मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ प्रकाशनमा आएको छ। उक्त पुस्तकको आवरण पृष्ठ शुक्रबार लेखक डा ओममूर्तिकी आमा राजकुमारी देवी सिंहले पुस्तकको लोकार्पण गरेकी हुन् ।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुख दुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ।
पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । त्यस्तै व्यक्तिको कर्तव्य, सोच र दायित्व लगायतका विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकले लिएका छन।पुस्तकमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने उल्लेख गरिएको छ।
२४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ।
उक्त कार्यक्रममा आईओएमका पूर्वडिन प्राडा जगदीश प्रसाद अग्रवालद्वारा लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । यस्तै डा रविन्द्र समिरले पुस्तकमाथि समिक्षा गरेका थिए ।
लोकार्पण कार्यक्रममा कलाकार हरिवंश आचार्यले जीवन, मृत्यु,प्रेम, कर्तव्य, विज्ञान, अध्यात्म, समाज र पेसाका सन्दर्भ पुस्तकमा सान्दर्भिक रूपमा आएकाले पुस्तक पठनीय रहेको टिप्पणी गरे।
पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ । विशेष प्रकाशनको मूल्य १ हजार रुपैयाँ हार्ड कभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्याग सहितको भएको कार्यक्रममा जानकारी दिईयो । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा.ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा. ओम फाउन्डेसनले जनाएको छ ।
‘जीवन्त सम्बन्ध’ पुस्तक अनलाइन तथा दराज, ई–सेवा, हाम्रो पात्रो लगायतका अनलाइन प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजबाट पनि पुस्तक अर्डर गर्न सकिन्छ ।
काठमाडौैं उपत्यकाभित्र अनलाइनमार्फत् अर्डर गर्ने पाठकलाई निःशुल्क होम डेलिभरीको व्यवस्था छ । देशभरका पुस्तक पसलहरूमा भने समीक्षा पब्लिकेसनले वितरण गर्नेछ ।