काठमाडौं- केमोथेरापी क्यान्सरका बिरामीहरुलाई निको पार्नका लागी दिइने औषधि हो । यो औषधि सुईको माध्यमद्धारा वा मुखबाट खान दिइन्छ । यस्ता औषधिहरु बिरामीको जिवन लम्ब्याउन, लक्षणहरु कम गर्न वा सो लक्षणहरु निर्मूल गर्नका लागि पनि प्रयोग गरिन्छ ।
कहिलेकाहि केमो र रेडियो थेरापीसँगै प्रयोग गरिन्छ भने कहिले अघि वा पछि लगाउँ पनि लगाउँने गरिन्छ ।
केमोथेरापी लगाएपछि रगतको मात्रा घट्न सक्छ, त्यसैले केमोथेरापी लिनुभन्दा अगाडि र लगाएको ७ देखि १० दिनपछि रगतको जाँच अनिवार्य गराउनुपर्छ । रगतको मात्रा धेरै घटेमा किमोथेरापी दिनु हुदैन । केमोथेरापी लिइरहेका बिरामीहरुले केमो लगाउनुभन्दा एक दिन अगाडि नै सम्बन्धित चिकित्सकलाई रगतको रिर्पोट देखाई केमो दिन मिल्छ वा मिल्दैन भनेर जाचँ गराउँनु पर्ने हुन्छ । दिनमिल्ने भए सम्बन्धित चिकित्सकसँग आफ्नो फाइलमा सहि गराउनुपर्छ ।
केमो लगाईसकेर घर जाने बेलामा घरमा खाने औषधि र ७ देखि १० दिनपछि जाँच गर्नुपर्ने रगतको पुर्जा डाक्टरसँग लेखाएर मात्र जानुपर्छ ।
साधारणतया केमोथेरापी लिदा वाकवाकी लाग्नु, वान्ता आउनु, जिउ दुख्नु, दिसा लाग्नु, कब्जियत जस्ता नकारात्मक असर देखिन सक्छन् । कहिले काही त धेरै वान्ता हुन, दिशा लागिरहने वा कतैबाट रगत जस्ता लक्षण देखिदा तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनु पर्ने हुन्छ ।
मुखबाट केमोथेरापी दिने बिरामीहरुले औषधि टुक्रा पारेर, धुलो पालेर, टोकेर वा चपाएर खानु हुदैँन र औषधिलाई हातले पनि छनुहुदैँन । त्यसको साटो प्याकेट फाडेर सिधैँ मुखमा राखेर वा शिशाको कचौरामा राखेर मुखमा हाल्ने र पानीको साथमा औषधि निल्नुपर्छ । औषधिलाई घाम पानी वा ओस लाग्नबाट बचाउनुपर्छ ।
केमोथेरापी लगाएपछि रगतको मात्रा घट्नसक्छ । रगतको मात्रा घटेको बेलामा दुध वा दुधबाट बनेको परिकारहरु जस्तै दहि, पनिर, चिजहरु वा काँचो खानेकुरा, फलफुलहरु खानुहुदैँन ।
धेरै रगत घटेपछि बिरामीको शरीरमा इन्फेक्सन हुने सम्भावना पनि बढ्दै जान्छ । यस्तो अवस्थामा इन्जेक्सनको साहायताद्धारा रगतको मात्रा बढाउन सकिन्छ । साथै यस्तो बेलामा धेरै मानिसहरुको भिडमा बस्नुहुदैँन । अरु व्यक्तिहरुसँग बस्दा वा बाहिर जाँदा मुखमा मास्क लगाउनुपर्छ ।
केमोथेरापी लिँदा दिनको ४ देखि ६ पटकसम्म औषधि, खाने सोडा वा नु पानीको साहायताले मुख कुल्ला गर्नुपर्छ ।
केमोथेरापी लिएपछि खान मन नलाग्न सक्छ । यस्तो अवस्थामा कडा गन्ध वा वास्न भएका खानेकुराले वाकवाकी लाग्न सक्छ त्यसैले सकेसम्म कम गन्ध वा वास्ना नआउने खानेकुरा दिनु उचित हुन्छ ।
दिनमा कमसेकम ३ देखि ४ लिटरसम्म पानी वा झोलीलो पदार्थ खानुपर्छ । तर वान्ता भएको खण्डमा अलि सुख्खा वा नरम खाना दिनुपर्छ ।
ताजा तागतिलो र राम्ररी पाकेको खानेकुरा खानुपर्छ । एक पटकमा थोरै तर पटक पटक गरी खानुपर्छ ।
फलफुल खानुभन्दा अगाडि तातो पानीमा डुबाएर वा धोएर मात्र खानुपर्छ ।
धुम्रपान, मद्यपान कुनै पनि किसिमको अम्मलको प्रयोग बिलकुलै गर्नुहुदैँन । उपचार पश्चात पनि यि कुराहरुको प्रयोग गरेमा रोग बल्झिन्छ ।
घामबाट बच्नुपर्छ । बाहिर हिड्दा छाताको प्रयोग गर्नुपर्छ ।
कुनै केमोथेरापीको प्रयोगले बिरामीको कपाल झर्नसक्छ । तर सबै केमोथेरापीको औषधिले कपाल झार्छ भन्ने छैन । कपाल नर्झदैमा औषधिले काम गरेन भन्ने हुदैँन । यो औषधिको गुणमा भरपर्ने कुरा हो । केमोथेरापी सकिएको केहि समयपछि फेरी कपाल पलाउँछ ।
केमोथेरापीले छालामा पनि असर गर्नसक्छ जस्तै छाला रातो हुने, विभिन्न किसिमका डावरहरु आउने, छाला उप्किने, सुख्खा हुने, चिलाउने आदि । यस्तो अवस्थामा छालालाई घामबाट जोगाउनुपर्छ । त्यस्तै नरम र खुकुलो लुगा लगाउने र मोस्चराइजरक्रिमको प्रयोग गर्नुपर्छ ।