कोलेस्ट्रोल मुटुका लागि हानिकारक मानिन्छ । यसका साथै यो क्यान्सरका लागि पनि खराब मानिएको छ । वीर अस्पतालका डाक्टर प्रकाशराज रेग्मीले रगतमा कोलेस्ट्रोल घटाउन यस्ता सुझाब दिएका छन् :
शाकाहारी खाना प्रयोग गर्नु कोलेस्ट्रोल हटाउने सबैभन्दा उत्तम उपाय हो । किनकि, शाकाहारी खानामा कोलेस्ट्रोलको मात्रा अति कम हुन्छ ।
अत्यधिक कोलेस्ट्रोल भएका खाद्यपदार्थहरू जस्तै– मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घ्यू, मख्खन आदि अत्यन्त कम मात्रामा उपयोग गर्ने ।
चिल्लो पदार्थको प्रयोग आवश्यक पर्दा सूर्यमुखी, मकै, भटमास, तोरी आदिको तेल अथवा बदाम, ओलिभ आदिको तेल प्रयोग गर्नु उचित हुन्छ ।
माछा, कुखुरा र लौकाटको मासुमा कम बोसो हुने हुनाले यी चिजहरू कम मात्रामा उपयोग गर्न सकिन्छ ।
खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर आदिको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुने हुँदा यिनको उपयोग नगर्नु बेस हुन्छ ।
खाना पकाउँदा तेल कम राख्ने तथा दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने ।
सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल र दाल अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्ने ।
माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ खानामा प्रयोग गर्नुपर्छ । यसले कोलेस्ट्रोलको नकारात्मक असरहरूलाई
कम गर्छ ।
बेलुकाको खाना अलि सबेरै (७ बजेतिर) खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।