एजेन्सी : सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुनेगर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ।
महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १-२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ। विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।
आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ।
पोलिसिस्टिक प्रकृतिक समस्या हो । तर, अहिले जुन रुपमा देखा परेको छ यो सबै जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले गर्दा हो ।
महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या देखा पर्छन्।
यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग ( फाइब्रोइड/पोलिप), पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।
तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हर्मोनल इम्ब्यालेसन्स’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ ।
चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुप-यो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ।
गर्भनिरोधक चक्कीले गर्दा पनि यस्तो समस्या आउन सक्छ । तीन महिने सुइले पनि महिनावारी गडबड हुन सक्छ।
सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।
कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्न सक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ । त्यसलाई ‘ओभ्युलेसन ब्लिडिङ’ भनिन्छ।
कसरी बच्ने ?
– महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ ।
– पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
– नियमित चेकजाच गराउनुपर्छ ।
– आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार गर्नुपर्छ।
– नियमित व्यायम गर्नुपर्छ ।
– शरीरलाई मोटो हुन दिनु हुँदैन ।
– गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ ।
– महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई रोक्न औषधि खानु हुँदैन ।