काठमाडौं - किशोरावस्था सजिलो समय हैन । तर कोरोना भाइरसको समय झनै अप्ठ्यारो छ । स्कुलहरु बन्द भइसकेका छन्, इभेन्टहरू क्यान्सिल भएका छन्, र दिनदिनै भेट हुने, गफसफ गर्ने साथीसँगी छुटेका छन् ।
यस्तो बेलामा चिन्ता लाग्नु, अत्यासिनु, निराश हुनु सामान्य कुरा हो । तर यस्तो अनुभव हाल हरेक किशोर किशोरीले महशुस गरिहेका छन् । यस्ता अनुभवबाट राहत पाउनका लागी हरेक किशोर किशोरीले तल उल्लेख गरिएका क्रियाकलाप गर्न सक्छन् ।
१. चिन्ता र अत्यास लाग्नु सामान्य रुपमा लिने
कुनै व्यक्तिलाई चिन्ता र अत्यास लागिरहेको छ यो समस्या हरेक व्यक्तिले भोगिरहेका छन् भन्ने ठानेर समान्य रुपमा दिनुपर्छ । यस्तो बेलामा सबैलाई चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो। विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेका छ्न् । त्यसले चिन्ता लगाउन सक्छ । त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुपर्छ । इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबैकुरा भरपर्दा हुँदैनन् ।त्यसैले भरपर्दा स्रोतको मात्र प्रयोग गर्नुपर्छ ।
२. मन भुलाउने उपाय खोज्ने
आफू निराश हुँदैछु भन्ने लाग्यो भने आफुले क्ष्च्छाएको तर समय अभाबमा गर्न नसकेका कुरा गर्न कोसिस गर्ने । आफुल गर्न सकिने क्रियाकलाप गरेर मन भुलाउने गर्नुपर्छ । आफ्नो होमवर्क गर्ने, अथवा टिभी हेर्ने, वा नयाँ किताब पढ्न सकिन्छ ।
३. साथीसँग घुलमिल हुने नयाँ उपाय खोज्ने
सामाजीक दूरी कायम राखिरहनु पर्ने यो समयमा साथीसँग घुलमिल हुने राम्रो माध्यम भनेको सामाजिक सञ्जाल पनि हो । तर कसरी सम्पर्क कायम राख्ने रु यसबारे सिर्जनशील उपाय सोच्नुपर्छ । सबैजना एकैचोटी अनलाइन रहेर गर्न सकिने क्रियाकलाप खोज गर्नुपर्छ । तर धेरै लामो समय कम्प्युटर वा फोनको स्क्रीन हेरेर बस्यो भने पनि मन निराश हुनसक्छ । त्यसैले बेलाबेलामा इन्टरनेटबाट टाढै बस्नुपर्छ । यस्तो समयलाई बरु आफ्नो परिवारका मानिससँग बिताउनुपर्छ । घरमै भेट्टाइने सामानबाट नयाँ सामान वा कलाकृति बनाउन सकिन्छ ।
४. आफ्नो कथाको आफैँ हिरो बन्न कोसिस गर्ने
अहिले फुर्सद छ रु कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो वा रहर लागेको कुनै सिप सिक्ने मन थियो भने अहिलेभन्दा राम्रो समय कहिलेहुन सक्दैन । त्यसैले आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ र मन राम्राराम्रा भावनाले भरिन्छ ।
५. आफ्नो मनका भावनालाई चिन्नुपर्छ
आफुलाई रहर लागेका धेरै कुरा अहिले गर्न नपाएर मन खिन्न भएको होला । मनमा आएको निराशालाई बेवास्ता गर्दैमा त्यो हराएर जाँदैन, बरु झन् बढ्छ । तर त्यसलाई महसुस गरेर चिन्ने हो भने त्यसलाई हटाउन सकिन्छ । त्यसलाई चिनेर कविता बनाइदिने, त्यसको अनुहारको चित्र बनाइदिने, आफूले जानेको सिर्जनशिल शैलीमा आफ्ना भावनाहरू पोख्न सकिन्छ । नजिकका साथीसँग आफ्ना भावना साटासाट गर्न सकिन्छ ।
६. आफू र अरूप्रति दयालु हुन सकिन्छ
कोरोना भाइरसको समयमा समेत केही किशोरकिशोरीहरू दुर्व्यवहारको शिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक अर्कालाई सहयोग गर्नु हो । कोहि दुर्व्यवहारमा परेको थाहा पाए त्यसलाई रोक्नुपर्छ । दुर्व्यवहारको शिकार भएका साथीलाई आफ्नो साथ र हौसला दिन सकिन्छ । अरु समयभन्दा बढी अहिले हामी आफ्नो व्यवहारबारे सजग रहनु पर्छ । कसैको चित्त दुखाउनु हुन्न, सबैलाई सहयोग गर्नुपर्छ । त्यसैले सोचविचार गरेर व्यवहार गर्नु पर्छ ।
(यी उपायहरू युनिसेफले न्यु योर्क टाइम्स स्तम्भकार डा लिजा डामौरसंग गरेको बार्तालापमा आधारित भएर उल्लेख गरेको हो)