काठमाडौं । स्वास्थ्य सेवा नै अवरोध गरी आन्दोलित चिकित्सकहरुसँग पटक पटक सरकारले सहमति गरे पनि चिकित्सक कुटिने क्रम भने रोकिएको छैन ।
गत भदौ १८ गते संघीय राजधानीकै केन्द्र काठमाडौंको कान्ति बाल अस्पतालमा आकस्मिक उपचारका लागि ल्याइएकी बिरामी बालिकाले उपचार नै नपाएर ज्यान गुमाइन् ।
उपचारका लागि आकस्मिक कक्षमा पालो कुर्दाकुनै बालिकाको ज्यान गएको थियो । काठमाडौंमा भएकाले यो घटनामा सबैको आँखा पर्यो ।
कतिपय अस्पतालमा भने चिकित्सककै लापार्वाहीले ज्यान जाने गरे पनि चिकित्सकको लापर्बाही भन्ने प्रमाण कहिँ कतै खुल्दैन ।
त्यही आवेगमा कतिपय ठाउँमा चिकित्सक माथि नै आक्रोशित भीँडले आक्रमण गर्ने गरेका छन् । जसका कारण आफूलाई असुरक्षित महशुस गरेका चिकित्सकहरु स्वास्थ्य सेवा नै प्रभावित गर्ने गरी सडकमा उत्रिने गरेका छन् ।
केही दिनअघि हेटौंडास्थित सञ्चो अस्पतालका दुई चिकित्सकमाथि आक्रमण भएपछि चिकित्सक संघ नै स्वास्थ्य सेवा अवरुद्ध गर्दै सडकमा उत्रिए ।सरकारले तत्काल सुरक्षाको प्रत्याभूति दिलाउँदै सहमति गरायो ।त्यस्तै उपचारका क्रममा बिरामीको मृत्यु भएपछि असोज ८ गते पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सक अनिल शाहमाथि हातपात भयो ।
सहमति लगत्तै भएको आन्दोलनले चिकित्सकहरुलाई थप आन्दोलित बनायो । रेसिडेन्टल डाक्टरहरुको निरन्तर आन्दोलनलाई रोक्न सरकारले फेरि अर्को ६ बुँदे सहमति गर्यो ।
सो सहमतिको मसी सुक्न नपाउँदै आइतबार काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भयो ।
इन्टर्न डाक्टर मनिष खड्कामाथि हातपात भएपछि चिकित्सकहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सक संघसँग सरकारले गरेको सहमतिपछि पनि पटक पटक भइरहेका यी घटनाहरुले सरकारलाई नै गिज्याइरहेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्नेलाई कारबाहीका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन नै आकर्षित हुन्छ । सोही अनुसार स्वास्थ्यकर्मीको सुरक्षा र दोषीलाई कारबाही हुने हो भने यस्ता घटनारु बारबार दोहोरिदैनन् ।