काठमाडौं । नेपाल औषधी उत्पादक संघ (एपोन)ले ‘फर्मा कन्क्लेभ-२०२३’ आयोजना गर्ने भएको छ । असोज २५ गते काठमाडौंमा आयोजना हुने सो कन्क्लेभको मूख्य उद्देश्य नेपाली बजारमा स्वदेशी औषधीको नयाँ अवसर सिर्जना, औषधी उत्पादन तथा बजारीकरणका नियमक नितिहरुको निरन्तरता र औषधी निर्यातलाई अन्वेषण गर्ने रहेको संघले जनाएको छ ।
‘खासगरी नेपाली औषधि उद्योगको विकासको लागि समयानुसार कस्ता औषधि नीतिहरु बनाउन सकियो भने औषधि बजारलाई सुधार र स्तरोन्नती गर्न सकिन्छ , विश्व बजारको माग अनुसार औषधि उद्योगहरुले कस्ता उत्पादनमा जोड दिने ? नेपालको औषधि उत्पादनको सुरक्षा र प्रभावकारिता कसरी कायम राख्ने भन्ने विषयमा सम्मेलन केन्द्रीत रहन सक्छ,’ एपोनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यो सम्मेलनले नेपाली औषधि उद्योगका उत्पादक तथा प्रतिनिधि, औषधि व्यवसायी, औषधि अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याउने आयोजकको विश्वास रहेको छ।
कन्क्लेभमा स्वदेशी औषधि उद्योगका उत्पादक, व्यवासायी, अनुसन्धानकर्ता र निर्यातकर्ताहरुको उपस्थिति रहने छ । यस्तै, संघका अनुसार उक्त अवसरमा औषधी उत्पादन तथा बजारीकरण सम्बन्धी नितिहरुका विषयमा छलफल गर्न नेपाल सरकारका प्रतिनिधिहरु तथा नेपाल, भारत, बंगलादेश लगायत राष्ट्रका विज्ञहरुको प्रस्तुती रहेको छ ।