कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो । यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ । क्यान्सरका कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौँ स्थानमा पर्छ ।
कलेजोको क्यान्सरका विभिन्न प्रकारमध्ये ‘हेपाटोसेल्युलर कार्सिनोमा’ मुख्य हो । कलेजोमा हुने विशेष प्रकारको कोष ‘हेपाटोसाइट’बाट यो सुरु हुन्छ । ‘इन्ट्राहेपेटिक कोलांगियो कार्सिनोमा’ र ‘हेपाटोब्लास्टोमा’ गरी अन्य दुई प्रकारका क्यान्सर कलेजोमा हुन्छन् । पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो क्रममा छन् ।
कलेजोका कोषहरुलाई हेपाटोसाइट भनिन्छ । हेपाटोसाइट भनेको कलेजोका तन्तुहरू हुन् । कुनै पनि कुराले कलेजोको हेपाटोसाइटलाई ड्यामेज गर्छ भने त्यसलाई हेपाटाइटिस भनिन्छ । तर विश्व हेपाटाइटिस दिवसको दिनमा कुरा गर्ने भनेको भाइरल हेपाटाइटिसबारेमा हो । यी यस्ता भाइरसहरू हुन्‚ जसले कलेजोलाई असर गर्दछ । भाइरल हेपाटाइटीसमा दुईथरीका भाइरस हुन्छन् । एउटा अक्यूट हेपाटाइटिस गर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ छन् । र क्रोनिक हेपाटाइटिस गर्न चाहिँ हेपाटाइटिस बी र सी छन् । त्यसबाहेक यहाँ हेपाटाइटिस डी पनि छ ।
हाम्रो देशमा हेपाटाइटिसको कुरा गर्दा ए, ई, बी र सी हुन् । डी खासै पाइँदैन । अक्यूट हेपाटाइटिस गर्ने ए र ई पानीबाट, फोहोर खानेकुराहरूबाट सर्ने गर्दछ । यसले अल्पकालीन समस्या देखाउँछ । भन्नुको मतलब‚ अहिले समस्या गर्छ र पछि आफैँ निको भएर जान्छ । तर जण्डिस हुने, बान्ता हुने, खान मन नलाग्ने‚ पेट दुख्ने भयो भने काम, पढाइलगायतमा बाधा पर्न जान्छ ।
गर्भवतीलाई यो रोग लागेमा ज्यान पनि जान सक्छ । हेपाटाइटीस बी र सीले चाँहिँ दीर्घकालीन रोग अथवा क्रोनिक हेपाटाइटिस गर्छ । यो प्रायःजसो रगतबाट, शारीरिक सम्पर्कबाट, संक्रमित आमाबाट बच्चाहरुलाई सर्ने गर्दछ ।
हेपाटाइटिस बी र सी भएमा मानिसको मृत्यु हुने सम्भावना कति ?
हेपाटाइटिस बी र सी भएको अवस्थामा तुरुन्तै मृत्यु हुने प्रतिशत एकभन्दा पनि कममात्र हुन्छ । ‘अक्यूट लिभर फेल्युअर’ भयो भने मृत्यु हुने सम्भावना हुन्छ ।
त्योचाहिँ एक प्रतिशतभन्दा पनि कम छ । तर यसको उपचार गरिएन भने क्रोनिक हेपाटाइटिस बी र सी हुने र यसको पनि उपचार गरिएन भने निको नहुने लिभर सिरोसिस भन्ने रोग लाग्ने सम्भावना हुनसक्छ । लिभर सिरोसिस भएपछि क्यान्सर पनि हुन सक्छ । सिरोसस हुनुभन्दा अगाडि पनि हेपाटाइटिस बीले क्यान्सर गराउन सक्छ । यदि खराबी गर्न शूरु गर्योस भने यसको उपचार गरिहाल्नुपर्छ ।
हेपाटाइटिस बी भने पोजेटिभ हुँदैमा सबैलाई उपचार गर्नुपर्छ भन्ने हुँदैन । यसमा अवस्था जाँच गरेर मात्र थाहा पाउन सकिन्छ । यो सजिलैसँग बुझ्न नसकिने रोग हो । त्यसैले यो रोगबारे थाहा पाउन विभिन्न जाँच गर्नुपर्छ । हेपाटाटिस सीचाहिँ रगतमा हेपाटाइटिस सी भाईरस देखिनेबित्तिकै उपचार गर्नुपर्ने रोग हो । यो उपचार गरेमा ९८ देखि १०० प्रतिशतसम्म नै रोग निको हुने सम्भावना रहन्छ ।
लक्षणहरू :
- अक्यूट हेपाटाइटिस हुँदा मानिसलाई खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, हल्का ज्वरो आउन सक्ने र जन्डिस देखिने हुन्छ ।
- कलेजोको क्यान्सर हुँदा खान मन लाग्दैन ।
- शरीरको तौल बिस्तारै घट्दै जान्छ ।
- कलेजोको वरपर दुख्नेजस्ता सामान्य लक्षण देखिन्छ ।
- लिभर सिरोसिस भएको बिरामीमा जन्डिस देखा पर्न सक्छ ।
- हात खुट्टा सुन्निने, पेट फुल्ने, पेटमा पानी जम्ने, रगत बान्ता हुने र दिमागमा समेत असर परेर बेहोशी पनि हुन सक्ने लक्षणहरू देखिन सक्छ ।
- तर क्रोनिक हेपाटाइटिस बी र सीमा लक्षण नै नहुन सक्छ । मानिसले बुझ्न पनि सक्दैनन् । जाँच गरेपछि मात्रै थाहा हुन्छ । क्रोनिक हेपाटाइटिस बढ्दै गइसकेपछि जब लिभर सिरोसिस हुन्छ वा कलेजोको क्यान्सर हुन्छ, त्यस समयमा भने विभिन्न लक्षण देखा पर्छन् ।
हेपाटाइटिसको कारण र सर्ने तरिका
- हेपाटाइटिस ए र ई फोहोर पानी, फोहोर खानेकुराबाट सर्ने गर्दछ, व्यक्तिबाट व्यक्तिमा सर्दैन ।
- हेपाटाइटिस बी र सी एक व्यक्तिबाट अर्का व्यक्तिमा सर्छ ।
- हेपाटाइटिस बी र सी संक्रमित व्यक्तिले अरुलाई रगत दिएको अवस्थामा रगतबाट सर्न सक्छ ।
- शारीरिक सम्पर्कबाट पनि सर्न सक्छ ।
- यदि आमा संक्रमित छ भने जन्मिँदा बच्चालाई पनि सर्न सक्ने सम्भावना हुन्छ ।
रोकथामका उपाय ?
कुनै पनि हेपाटाइटिस रोग रगत परिक्षणद्धारा पत्ता लाग्ने गर्छ । यदी तपाईलाई हेपाटाइटिस भएको छ भने त्यसको उपचार रोगमा निर्भर हुने गर्छ । तर कुनै पनि रोग भन्दा त्यसको रोकथाम गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।त्यसको लागि विभिन्न कुरामा ध्यान दिनु जरुरी छ ।
१. शरीरमा रोग लाग्न नदिने
२. दुषित पानी तथा खानेकुराको सेवन नगर्ने
३. खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने
४. सफासुघर बस्ने
५. फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने
६. वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,
७. पानी उमाल्न नसकेको खण्डमा पानीमा क्लोरिनको प्रयोग गर्ने
८. यदी ताई आमा बन्दै हुनुहुन्छ भने गर्भावस्थामै चिकित्सकसितको सल्लाह अनुसार हेपाटाइटिस विरुद्धको खोप लगाउने
९. आफ्नो बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने
१०. अस्पताल जँादै हुनुहुन्छ भने नयाँ सुईको प्रयोग गर्ने । असुरक्षित यौन सम्बन्ध नराख्ने ।
विशेषगरी खानेपानीमा ध्यान दिनुपर्दछ । कुनै पनि व्यक्तिलाई हेपाटाइटिस भयो भने उसको कलेजो चाँडै नै बिग्रने सम्भावना हुन्छ ।
यसले गर्दा खानपानमा ध्यान दिन जरुरी छ । कुनै पनि हेपाटाइटिस भएर जण्डिस भएको अवस्थामा खाना बार्नुपर्दैन । प्रशस्त पौष्टिक कुरा खान जरुरी छ । अप्रशोधित औषधि खाँदा कलेजो अरु बिग्रने सम्भावना हुन्छ । हेपाटाइटिस संक्रमितको मृत्युदर हेपाटाइटिस ए र ईले साधारणतया मानिसको मृत्यु गराउँदैन । यो भएका मानिसलाई हप्ता-दश दिनजति लक्षण देखिन्छ ।
एक महिनादेखि डेढ महिनासम्ममा निको हुन्छ । तर दीर्घकालीन कलेजोका रोगी वा अन्य कारणले कलेजोमा समस्या भएका व्यक्तिलाई ए र ईको संक्रमण भएमो उसको मृत्यु चाँडै पनि हुन सक्छ । अर्को कुराचाहिँ हेपाटाइटिस ए र ई यदि गर्भवतीलाई‚ त्यसमा पनि गर्भको अन्त्यतिर भएमा त्यसले लिभर फेल गराएर मृत्यु गराउने सम्भावना पनि हुनसक्छ ।
हेपाटाइटिस बी र सीको बारेमा कुरा गर्दा संसारभरिमा प्रत्येक मिनेटमा एकजना मानिस यसकै कारण ज्यान गुमाइरहेका हुन्छन् । हेपाटाइटिस सी निको हुन सक्ने रोग हो । यसलाई निको पार्ने औषधि पनि छ । नेपालमा यकीन तथ्याङ्क नभएपनि अनुमानका आधारमा एक लाख २० हजार जति व्यक्तिलाई हेपाटाइटिस सीको संक्रमण रहेको ठानिएको छ । पहिचान गरेर निको पारियो भने हेपाटाइटिस सीलाई निर्मूल पार्न सकिने अवस्था छ । सरकारले ध्यान दिएर चाहेको खण्डमा यो निर्मूल पार्न सकिन्छ ।
नेपालमा करिब करिब एक प्रतिशतभन्दा केही कम जनतामा हेपाटाइटिस बीको संक्रमण रहेको मोटामोटी तथ्याङ्क छ । यसको मतलब ३ लाखको हाराहारीमा हेपाटाइटिस बीको संक्रमण भएको मान्न सकिन्छ । योचाहिँ कुनै कुनै क्षेत्रमा एकदमै धेरै छ । जस्तै हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, हुम्ला‚ जुम्ला, डोल्पालगायत जिल्लामा धेरै नै छ । करिब २ वर्षअघि उपल्लो डोल्पा जिल्लामा गरीएको परीक्षणमा ३ सय ९६ जनाको हेपाटाइटिस बी जाँच गर्दा ८२ जनामा भेटिएको थियो । यो करिब करिब २५ प्रतिशत हो । पहाडी जिल्लाहरुमा धेरै देखिएकाले पनि ती क्षेत्रमा अझ सतर्कता अपनाउनुपर्ने देखिएको छ ।