नेपालीहरुले धेरै पिउने चिया पनि एक पेयपदार्थ हो, जसलाई स्वस्थकर बनाएर पिउन सकिन्छ । दूध र चिनी हालेको चिया धेरै खाने बानी छ भने त्यसलाई कम गर्नु उपयुक्त हुन्छ । तर बिहान उठ्नेबित्तिकै एक कप दूध हालेको चिया नखाई मन नै ‘उदास’ हुनेहरुले एक कप चिया खाँदा समस्या छैन ।
कसैको घर जाँदा ‘चिया खाऊँ है’ भन्ने चलन नै छ । अथवा ‘चिया खाँदै कुरा गराैँन’ भन्ने चलन पनि छ । अझ दूध र चिनी नहालेको, कागती हालेको चियाले त धेरै फाइदा गर्छ ।
म व बिहानदेखि बेलुकासम्म ६–७ कप कागती हालेको, चिनी नहाली मरिच र दालचिनी हालेर चिया पिउँछु । यसले मेरो दिनभरिको पानी आपूर्ति गर्न पनि मद्दत गर्छ । चियाको तलतल पनि मेट्छ
अहिले चिया विभिन्न किसिमका पाइन्छन् । कहिले त फलफूल काटेर, त्यसलाई उमालेर वा विभिन्न फूलहरु जस्तो– चमेली चिया (ज्यास्मिन टी), सुपारी, गुलाफको फूलको चिया आदि पनि उत्तम पेयपदार्थ हुन् ।
प्रायः गुलाफको सौन्दर्य हेरेर खुशी भइन्छ ।तर यसको चियाको स्वाद लिएर पनि स्वास्थ्य राम्रो पार्न सकिन्छ । गुलाफको फूललाई उमालेर वा उम्लेको पानीमा केहीबेर भिजाएर, त्यसमा स्वाद अनुसार कागती र मह हालेर खान सकिन्छ । भिजेको गुलाफ्लाई चपाउन हुन्छ । यसमा केही सूक्ष्म पोषण र रेसादार तत्व पनि हुन्छ ।
गुलाफ हेर्ने मात्र होइन चिया बनाएर पिउने पनि गरियो भने लाभदायक हुन्छ ।
तराईतिर पाहुनाहरुलाई घरभित्र पस्नेबित्तिकै एक गिलास पानी र एक टुक्रा गुडले स्वागत गर्ने चलन पुरानो हो । अहिलेचाहिँ त्यसमा परिवर्तन भएर चियाले स्वागत गर्ने गरिन्छ । चिया खाँदा धेरै उमालेको र कडा दूध हालेको चिया प्रयोग कम गरेकै बेस हुन्छ ।
गर्मीको बेला आँपलाई घोलेर बनाइएको रसले मन र शरीर दुवैलाई आनन्द दिन्छ । पाकेको र काँचो दुवै आँपबाट सर्बत बनाएर खान सकिन्छ । पर्याप्त मात्रामा ऊर्जा, भिटामिन, सूक्ष्म पोषक तत्व भएको यस्तो सर्बतले शरीरमा ऊर्जा पनि दिन्छ, पेट पनि भरिन्छ । तर यस्तो रस घरबाहिर किनेर खाँदा भने बडो विचार गर्नुपर्छ ।
जाडोको बेला नेपालको तराई भागमा उखुको रस पनि खाइन्छ-पिइन्छ । यसमा वीरेनुन, मरिच हालेर खाँदा स्वादिलो हुन्छ । ऊर्जा पनि छिट्टै दिन्छ । तर मधुमेह भएका व्यक्तिहरुले यस्ता फलफूलको रस पिउँदा निकै विचार गर्नुपर्छ ।
घरमा बनाएको सुन्तला रस पनि स्वस्थकर हुन्छ । तर रस बनाएर निस्केपछि छोक्राचाहिँ फालिदिने चलन छ । यस्तो छोक्रामा पनि पर्याप्त सूक्ष्म पोषण तत्व हुने भएकोले यिनलाई प्रयोग गर्नुपर्छ ।
विदेशतिर ‘सुनौला दूध’ (गोल्डेन मिल्क) भनेर महँगोमा दूध र बेसारको मिश्रण बेचिन्छ । नेपाल र भारतका गाउँ–घरमा हजुरआमाहरुले रुघाखोकी लाग्दा, ज्वरो आउँदा औषधिका रुपमा दिइने यो पेयपदार्थ जहिले पनि प्रयोग गर्न सकिन्छ ।
त्यसै गरी जाडोमा पुदिनाकै चिया र गर्मीमा शीतलता दिने पुदिनाको सर्बत प्रयोग गर्न उत्तम हुन्छ । हरियो र सुकेको दुवै पुदीना प्रयोग गर्न सकिन्छ । यसमा रेसादार तत्व र केही मात्रामा सूक्ष्म पोषक पनि पाइन्छ । पेट स्वस्थ राख्न पुदिनाको सर्बत प्रयोग गर्न सकिन्छ ।
त्यसै गरी तुलसी, अदुवा आदिको पनि सर्बत, चिया बनाउन सकिन्छ । गर्मीको बेला वाकवाकी आउने, मुख सुक्ने, टाउको दुख्ने समस्या हुँदा पुदिनाको सर्बतको प्रयोगले यस्तो शारीरिक समस्या न्यूनीकरण हुन सक्छ । जाडोमा खाँदा रुघाखोकी कम गर्छ ।
ठूला–ठूला होटलमा महँगो पेयपदार्थ कागती, अदुवा र महको पानी घरमा नै सजिलैसँग थोरै पैसामा बनाउन सकिन्छ ।
अदुवालाई स–साना टुक्रा पारेर, केहीबेर उमालेर, झिकेपछि कागती र अलिकता मह मिसाएपछि यो यो स्वस्थकर पदार्थ बन्छ । गर्मी र जाडो दुवै बेला सहज खान-पिउन सकिने यो पेयपदार्थले अदुवा र कागती मिसिएको हुनाले रोगसँग लड्ने शक्ति दिन्छ । शरीरमा स्वादिलो तरिकाले पानी आपूर्ति गर्छ ।
अलिकता विचार गर्ने हो भने हाम्रा वरिपरि उपयोगी एवं स्वास्थ्यवद्र्धक पेयपदार्थ बनाउन सकिने धेरै उपयोगी वस्तुहरु छन् ।
अलिकता जाँगर भए स्वस्थकर पेयपदार्थ घरमै बनाउन सकिन्छ, शरीरलाई समेत हानि गर्ने महँगा unhealthy पेयपदार्थ किन्नै पर्दैन ।