काठमाडौं । डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो । हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा ४९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए । उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो । जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले ५ पोका दिने गरेको प्रमुख धामीले बताए ।
सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपो रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा ५ वर्षदेखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि ५ वर्षदेखि नुन ढुवानी हुन नसकेको धामीले बताए ।
गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकामस्थित डिपोमा नुन लिन पुग्दा समस्या भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी राजिमान बुढाले बताए ।
बुढाले भने, “नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातिर छ भने अर्को तीर सदरमुकाम दुनैस्थित साल्ट ट्रेडिङले प्रति परिवार दुई पोकाका दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको दुई पोका नुन खरिद गर्न २ देखि ३ हजार रुपैयाँसम्म खर्च हुने हुने गर्छ ।”
यसरी हेर्दा १ केजी नुनको मूल्य १ हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी ५ वटै बिक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।
नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए ।
यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभर नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल बिक्री केन्द्रबाट ५० क्वीन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले जानकारी दिए ।
लिकु, सर्मी, तिज्नेलगायतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताए । सदरमुकामदेखि बाहिरका डिपोमा कर्मचारी नभएको अवस्थामा रहेको छ । ठेकेदार आफैले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ ।