हेटौँडा, असोज २३ गते । बागमती प्रदेशमा रहेको हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि मनोचिकित्सा वार्ड सञ्चालनमा आउने भएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा अस्पतालमा २५ श-या क्षमताको मनोचिकित्सा वार्ड सेवा सञ्चालनबारे जानकारी दिइएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेको मानव सेवा आश्रममा ३० श-या क्षमताको मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र सञ्चालनको तयारी गरिएको छ । मङ्गलबार औपचारिक उद्घाटन हुने भए पनि आगामी मङ्सिरदेखि पूर्ण रूपमा मनोपरामर्श सेवा दिइने प्रतिष्ठानका शिक्षाध्यक्ष एवं मनोचिकित्सक डा. सुरेन्द्र शेरचनले बताउनुभयो ।
हेटौँडा अस्पतालमा अन्य विषयका साथै मानसिक रोग विशेषज्ञ २ देखि ५ बजेसम्म विस्तारित ओपिडी सेवा, प्रतिष्ठानमा चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारी भइरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
“जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्छाैं, अहिले मकवानपुरका दुई वटा गाउँपालिका केन्द्रमा महिनाको एक दिन ओपिडी सेवा प्रदान गर्ने गरी काम भइरहेको छ,” डा. शेरचनले बताउनुभयो । सामुदायिक फार्मेसी सेवा र जिल्लाभर मासिक रूपमा मानसिक रोग विशेषज्ञसहितको टोलीले मानसिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
“असारदेखि हेटौँडा अस्पतालमा एक जना मनोचिकित्सकमार्फत ओपिडी सेवा दिइरहेका छौँ, अब तीन जना मनोचिकित्सक राख्ने तयारीमा हामी लागेका छौँ,” डा. शेरचनले भन्नुभयो । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले आत्महत्या गर्ने पनि बढेको उहाँले बताउनुभयो ।
प्रजनन उमेरका महिलामा मृत्युको प्रमुख कारण आत्महत्या रहेको बताउँदै मनोचिकित्सक डा. शेरचनले प्रत्येक चार परिवारमध्ये कम्तीमा एक परिवारमा मानसिक स्वास्थ्य समस्या भएका सदस्य हुने गरेको तर्क गर्नुभएको छ ।
आयोजित पत्रकार सम्मेलनमा डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन,स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, रजिष्ट्रार राजेश प्रसाईं, मेसु डा. रामचन्द्र सापकोटाको आतिथ्यता रहेको थियो ।