ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एउटै व्यक्तिको कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरेको छ । सोमबारबाट सुरु गरिएको प्रत्यारोपण मङ्गलबार बिहान सम्पन्न भएको छ ।
अस्पतालका मेडिकल निर्देशक सुरज बज्राचार्यले १८ घण्टाभन्दा बढी समय लगाएर एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा यो शल्यक्रिया इतिहासमै पहिलो पटक र दुर्लभ भएको दाबी गर्नुभयो ।
कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति चितवनको भरतपुरनिवासी ३४ वर्षीया महिला हुन् । उनलाई ३५ वर्षीय श्रीमान्ले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी थिइन् ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी महिलामा जन्मजात कलेजोको रोग भएको र सोही कारण दुवै मिर्गौला बिग्रिन गएको उल्लेख गरेको छ। विज्ञप्ति अनुसार प्रत्यारोपण सफल पार्न भारतको अपोलो अस्पतालका चिकित्सक डा. निरभ गोयल, डा. अरुण कुमार मेनुथुरिमिल्ली र डा. सञ्जीव अनेजाको सहभागी थिए।
किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा. मुकुन्दराज जोशीको नेतृत्वमा लिभर ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, किड्नी प्रत्यारोपण सर्जन डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री र डा. कश्यप दाहाल लगायत सहभागी थिए।
उहाँले जटिल शल्यक्रियाका लागि अस्पतालले ‘मल्टिडिसिप्लिनरी एप्रोच’ अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसियू क्रिटिकल केयर विशेषज्ञ, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिक गरी एक सय जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालित थिए।
ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंहले तीन वटा अप्रेसन थिएटर एकै साथ प्रयोग गरी शल्यक्रिया गरिएको बताउनुभयो । उहाँले पहिले कलेजो प्रत्यारोपण र त्यसपछि मिर्गौला प्रत्यारोपण गरिएको बताउनुभयो ।