काठमाडौं । राजधानीमा डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ शुरू गरेको छ । कामपाले डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सडक वरपर विशेष सरसफाइ शुरू गरेको हो ।
कामपाले डेंगी नियन्त्रण र विशेष सरसफाइ गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय र कामपा वातावरण व्यवस्थापन विभागअन्तर्गत केही कर्मचारी परिचालन गरिएको छ । चाडवाड शुरू हुनै लाग्दा राजधानीमा डेंगी संक्रमणको संख्या ह्वात्तै बढ्न थालेको छ ।
सबैभन्दा बढी कालिमाटी, कलंकी र स्वयम्भू क्षेत्रमा डेंगी संक्रमितको संख्या बढेको छ । बढी वर्कसप, भीडभाड हुने र पानी जम्ने क्षेत्र बढी भएका कारण ३ वटाक्षेत्रमा संक्रमितको संख्या बढेको छ ।
हालसम्मको तथ्यांकअनुसार डेंगी संक्रमितको संख्या ३५ हजार ५० जना रहेका छन् । संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ । उपत्यकामा संक्रमण दर उच्च रहेको छ । उपत्यकामा करिब ७ सय ५० जना संक्रमित भइसकेका छन् ।
विशेष गरी जमेको स्थान, घर, विद्यालय, सडक छेउछाउ, गमला, ड्रमलगायत सबै पानी जम्ने स्थानमा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रमअन्तर्गत २८ गतेसम्म डेंगी नियन्त्रण गर्ने कार्यक्रम रहेको छ । कामपाले हिजो डेंगी नियन्त्रण र विशेष सरसफाइमा सहभागी हुने टोलीलाई कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।
कामपाले जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गर्नेछ । हरेक समूहमा एक जनाले नेतृत्व गर्नेछन् । बिहीबार पूर्वक्षेत्रअन्तर्गत नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गरेका थिए । सो टोलीले आज शुक्रबार पश्चिम क्षेत्रको वडा–२, १२ देखि १७ र २६ वडाक्षेत्रमा डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सफाइ कार्यक्रम गर्नेछ ।
भोलि शनिबार मध्यक्षेत्रको १८ देखि २७ र २७ वडाक्षेत्र र २८ गते उत्तरक्षेत्रको १, ३, ४, ५ र २८ देखि ३० वडाक्षेत्रमा डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्कने र बृहत् सफाइ कार्यक्रम गर्नेछ । डेंगीको अवस्था हेरेर दशैँलगत्तै विशेष कार्यक्रम गर्ने योजना रहेको छ ।