काठमाडौँ। औषधि सम्बन्धि बृहत सम्मेलन ‘फार्मा कन्क्लेभ – २०२३’ सम्पन्न भएको छ । नेपाल औषधि उत्पादक संघको आयोजनामा भएको यो सम्मेलनमा नेपाली औषधि उद्योगको विकासकालागि नीतिगत वहस, नेपालमा फर्मा बजारको सम्भावना र चुनौती लगायतका विषयमा अन्तर्क्रिया गरीएको हो।
उक्त कार्यक्रममा नेपालका औषधि उत्पादक, स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागका पदाधिकारी सहित भारत र बंगलादेशका विज्ञहरुको उपस्थिथि रहेको थियो ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले यो सम्मेलनले नेपाली औषधि उद्योगका उत्पादक तथा प्रतिनिधि, औषधि व्यवसायी, औषधि अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याएको भन्दै नेपाली औषधि उद्योगको विकास, नीतिगत वहस, नेपालको औषधि बजारको सुधार लगायतका विषयमा छलफल भएको बताए
कार्यक्रमको पहिलो सत्रमा भारतका डा निकुञ्ज पटेल, बंगलादेशका डा शितेस सी बचार सहित टिजिग फार्माका कार्यकारी निर्देशक शैलेश बैद्य, औषधि व्यवस्था विभागका पानबहादुर क्षेत्री, औषधि विज्ञ डा पन्ना थापा लगायतले अन्तर्क्रियामा भाग लिएका थिए।
अन्तर्क्रियामा ढाका युनिभर्सिटीमा फार्मेसी विभागका डिन डा।शितेस सी बचारले बंगलादेशको फर्मा उद्योगले कसरी विकास गर्यो र त्यसबाट नेपालले के कुरा सिक्न सक्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए। त्यसैगरी उनले एसियाका केही छिमेकीहरु मध्ये सिंगापुर, मलेसिया, फिलिपिन्स, भियतनामले आयात गरेको तथ्यांक दिए। त्यस्तौ बंगलादेश फर्मा उत्पादनका हिसावले राम्रो पोजिसनमा रहेको समेत बताए।
कार्यक्रमको अन्तिम सत्रलाई स्वास्थ्य सचिव डा रोशन पोखरेलले सम्वोधन गरेका थिए । डा पोखरेलले नेपाली औषधि उद्योगहरुको विकासका लागि सरकारको सधै सहयोग रहने र नीतिगत गर्नु पर्ने सुधारका काममा आफू सधै सकारात्मक रहेको बताए । साथै उनले स्वदेशी उद्योगहरुले गुणस्तरमा ध्यान दिन आग्रह समेत गरे ।
अन्तिमा कार्यक्रमबाट आएका निष्कर्षका आधारमा स्वास्थ्य, उद्योग, अर्थ मन्त्रालय, औषधि व्यवस्था विभाग, फार्मेसी काउन्सिल लगायतका सरकारी निकायहरुलाई सुझाव पेश गर्ने एपोनका अध्यक्ष पाण्डेले बताए ।