काठमाडौं । विकोस क्लिनिक फाउण्डेशन अमेरिका र बन्दीपुर अस्पतालको संयुक्त आयोजनामा बन्दीपुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
यही कात्तिक १६ गतेसम्म सञ्चालन हुने पाँच दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा आजसम्म आठ सय बढीले स्वास्थ्य सेवा लिएका छन्। अमेरिकन डा निश्चेल सेचुस्टर, डा डेनिला गोमपेल लगायतका सात जना र शिक्षण अस्पताल काठमाडौंका डा नारायण महत्रा, डा अर्जुन श्रेष्ठ, डा प्रशान्त त्रिपाठी र डा रक्षा त्रिपाठी लगायतका चार गरी ११ जनाको टोली शिविरमा खटिएको जनाइएको छ।
अमेरिकन डाक्टरले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिई मेडिकल काउन्सिलबाट अस्थायी एनएमसी लिएर बन्दीपुर गाउँपालिका र बन्दीपुर अस्पतालको सहकार्यमा शिविर गरिएको सूचना अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए। विकोस क्लिनिक फाउण्डेशन अमेरिका संस्थाले सन् २००२ देखि बन्दीपुर क्षेत्रमा दुई वर्षको अन्तरालमा शिविर सञ्चालन गर्दै आएकाले यसवर्ष पनि निरन्तरता दिइएको बन्दीपुर अस्पतालले जनाएको छ।
गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरेपछि उपचारका लागि स्थानीयवासी उत्साहका साथ सहभागी भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। अमेरिकन र नेपाली चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने शिविरमा दैनिक नागरिकको भीड लाग्ने गरेको छ।
जटिल रोगका उपचारका लागि पोखरा, चितवन, काठमाडौँलगायत शहरमा लामो दूरी धाउनुपर्ने बन्दीपुरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न शिविरको आयोजना गरिएको हो। शिविरमा आँखा, नाक, कान, घाँटी र प्रसूति रोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा औैषधि वितरण गरिएको छ।
शिविरमा दैनिक दुई सय बढी नागरिक उपचारका लागि आउने गरेको बन्दीपुर स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले जानकारी दिए। आँखामा मोतिबिन्दुको समस्या देखिएमा दृष्टि अस्पताल पोखरामा कात्तिक १८ गते र जिल्लाकै भानु नगरपालिका–२ नारेश्वरटारमा मङ्सिर ७ गते निःशुल्क शल्यक्रियाको व्यवस्था रहेको छ।
उक्त शिविरमा नाक, कान र घाँटीको शल्यक्रिया गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। त्यसैगरी कात्तिक १२, १३, १४, १५ र १६ गते अमेरिकन तथा नेपाली विशेषज्ञ चिकित्सक जनरल फिजिसियनद्वारा स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिने छ।
गाउँपालिका कार्यालयले गाउँपालिकावासीको स्वास्थ्य उपचारका लागि प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।