हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ।
धन्तेरस नेपाली समाजमा त्यती मनाउने चलन थिएन । भारतीय संस्कारको प्रभावका कारण हिजोआज धन्तेरस मनाउन थालिएको हो । धन्तेरस तिहार चाडसँगै जोडिएको छ ।
धनतेरसका दिन धातुका सामान किने शुभ हुने विश्वास रहिआएको छ । धन्तेरसका दिन किनेको सुन, चाँदी र तामाका सामानहरुलाई लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलन रही आएको छ ।
धन्तेरसका दिन जोडेको सामान लक्ष्मीपूजाका दिन पुज्ने र धनवृद्धि हुने विश्वास रहेको छ । बजारमा सामान किन्नेहरुको भीडसँगै दीपावलीको रौनकता बढेको छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।
धन्तेरसका दिन भाँडाकुडाका साथै सुन चाँदीका सिक्का वा गरगहना , धेरैले सुनका सिक्का अर्थात असर्फी किन्ने गर्छन् ।
धन्तेरसमा गहना भित्र्याउँदा घरमा लक्ष्मीको बास हुने विश्वास गरिन्छ । यस दिन क्षमतानुसार सुनका सिक्का (असर्फी), औँठी, बाला, कानमा लगाउने गहना किन्ने चलन छ । कतिपयले यस दिन पूजाको थाली, पञ्चपात्रो, कलशलगायतका सामान पनि खरिद गर्छन् ।
यी सामाग्री धन्तेरसका दिन किन्ने र त्यसलाई घरको पूर्वउत्तर (ईशान कोणमा) लगी राखिन्छ । धन्तेरसको प्रायः २ दिनपछि हुने लक्ष्मी पूजाको बेलामा यी सामाग्रीहरुको प्रयोग गर्ने प्रचलन छ । यी सामाग्री राखेर पूजा गरेमा लक्ष्मी माता खुशी हुन्छिन् र हामीलाई धनधान्यले सम्पन्न गराउँछिन् भन्ने विश्वास छ ।
धन्तेरसका दिन गच्छे र रुची अनुसार कमलको पुष्पासनमा बस्नुभएकी लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने गरिन्छ । कसैले माटोको मूर्ति ल्याउने गर्छन् । यसो गरेमा फलदायी हुने जनविश्वास छ । भनिन्छ, अन्नले घरमा भरिपूर्ण हुन्छ । लक्ष्मीको मूर्ति वा तस्बिर उभिएको भए धन रहँदैन वा उडेर जान्छ भन्ने मान्यता भएकाले बसेकै लक्ष्मी चाहिन्छ ।
धन्तेरसमा भाँडाकुँडा किन्ने हो भने तामा, स्टिल, पित्तलआदिको साथमा चाँदी पनि किन्नु शुभ मानिन्छ । यसो गरेमा कुवेरजीसमेत घरमा विराजमान भई धनधान्यले भरिपूर्ण हुनेछ । अझै सुन किन्नु लाभदायीक मानिन्छ । यस दिन किनेका सामाग्री अन्यलाई दिनु उचित मानिँदैन । यस दिन कालो रंगको सामान झुक्किएर पनि नकिन्नु भनिन्छ । कालो रंगको सामान घरमा भित्र्याएमा अशुभ हुने लक्षणको संकेत मानिन्छ ।
कतिपयले यस दिन धनियाँ (सिङ्गो), कौडी र कमलगट्टा किनेर घरमा ल्याउँछन् । यसलाई लक्ष्मी पूजामा चढाउने र घरमा राख्नाले शुभ हुने विश्वास छ । यसबाट घरमा धनको कमी नहुने र घरपरिवारमा शान्ति मिल्ने जनविश्वास छ ।
धन्तेरसदेखि नै लक्ष्मीको उत्सव सुरु हुने भएकाले बेलुका घरघरमा झिलिमिली बत्ती बालेर पूजा थालिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा हुन्छ । तिहारको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशी तिथिमा काग तिहार पर्छ । यस दिन कागको पूजा गर्ने र घरमा पाकेका खाना कागलाई दिने गरिन्छ । कागलाई पूजाआज नगरे र खान नदिए पाप लाग्छ भन्ने मान्यता छ ।
धर्म शास्त्रकाअनुसार नरकका यमराजका दूतका रुपमा कागले काम गर्छ । कागले संसारका प्राणी र यमराजको बीचमा आकाश मार्गबाट सबैभन्दा छिटो किसिमले सन्देश लैजाने र ल्याउने गर्छ भन्ने मान्यता छ । काग अशुभ सन्देशको बाहक मानिने भएकाले घर छेउमा आएर कराएमा ‘का कौवा का, शुभ बोल, शुभ बोल’ भन्ने चलन छ ।
त्यसैगरी यस दिन यमदीपदान गर्ने चलन पनि छ । धार्मिक विधि अनुसार दान गर्दा दक्षिण फर्काएर गर्नुपर्छ । यसो गर्दा मृत्युपछि यमराजले दिने यातना खप्नु पर्दैन भन्ने विश्वास गरिन्छ ।