परिचय :
स्तन मा रहेका सामान्य कोषहरु ले आफ्नो चरित्र मा परिवर्तन गरेर अनियन्त्रित रुप ले वृद्धि हुन थाले भने स्तन क्यान्सर को जन्म हुन्छ । विश्व मा फोक्सो को क्यान्सर पछि स्तन क्यान्सर नै क्यान्सर बाट हुने मृत्युको मुख्य कारक बनेको छ । हरेक वर्ष झण्डै दश लाख महिलाहरु स्तन क्यान्सर बाट पीडित भएको तथ्यांक ले देखाउंछ । यो साधारणतः स्तन मा गाँठोको रुपमा देखा पर्छ । स्तन क्यान्सर पुरुषहरुमा विरलै मात्र भेटिने समस्या हो । आधा जसो स्तन क्यान्सर स्तनको माथिल्लो बाहिरी खण्डमा (स्तन को चतुर्थाम्शमा) हुने गरेको छ ।
स्तन क्यान्सर हुनुका जोखिमयुक्त कारणहरु :
स्तन क्यान्सर हुनुका पछाडी सुधार गर्न सकिने र सुधार गर्न नसकिने निम्न कारणहरु छन् :
उमेर : २५ वर्षको उमेरभन्दा अगाडी स्तन क्यान्सर हुने कमै सम्भावना हुन्छ भने त्यसपछि का वर्षहरुमा स्तन क्यान्सरको सम्भावना बढ्दै गएको हुन्छ ।
पुनरावृत्ति : एक पटक स्तन क्यान्सर भइसकेका लाई दोहोरिने सम्भावना अत्यधिक हुन्छ।
आनुवंशिक : यदि BRCA1 र BRCA2 जीन का बीच उत्परिवर्तन (म्यूटेशन) भएको क्रोमोजोम आनुवंशिक रुपमा सरेर आएको छ भने ।
हर्मोनमा हुने परिवर्तन :
- छिटो रजस्वला हुनु र ढिलो रजस्वला रोकिनु । एसले शरीरमा हुने हर्मोन परिवर्तन लाई बढावा दिन्छ ।
- हर्मोनयुक्त गर्भनिरोधक औषधिको प्रयोग ।
- गर्भधारण को संख्या : जति धेरै पटक गर्भधारण गरियो स्तन क्यान्सरको जोखिम उति नै धेरै हुन्छ ।
- पहिलो गर्भधारण को उमेर : यदि पहिलो गर्भधारणको उमेर ३० वर्ष भन्दा माथी भयो भने पनि बढी खतरा हुन्छ ।
- यदि बच्चै भएनन् अथवा भएका बच्चालाई राम्रोसँग आफ्नो दूध चुसाइएन भने पनि स्तन क्यान्सरको खतरा हुन्छ ।
रजोनिवृत्ति पश्चात् गरिने हर्मोनको उपचार ।
पारिवारिक इतिहास : स्तन क्यान्सर वंशानुगत रुपमा सर्ने सम्भावना हुन्छ ।
जीवनशैली : बढी मात्रामा संतृप्त चिल्लो पदार्थ भएका खानेकुरा खानु, रक्सी पिउनु, शारीरिक परिश्रम नगर्नु र धूम्रपान गर्नु जस्ता जीवनशैलीले स्तन क्यान्सर हुने सम्भावनालाई बढावा दिन्छ ।
रजोनिवृत्ति पश्चात् को मोटाई : रजस्वला हुन बन्द भए पछि बढी मोटाउनुसँगै स्तन क्यान्सरको खतरा बढ्ने हुन्छ ।
अन्य : विकिरणको बढी संपर्कका कारण पनि स्तन क्यान्सर हुने सम्भावनामा वृद्धि हुन्छ ।
संकेत तथा लक्षणहरु :
-
- स्तन छाम्दा गाँठा फेला पर्नु
- स्तन को आकारमा परिवर्तन देखिनु
- दूधको मुन्टो रसाउनु (दूध बाहेकका पदार्थ निस्कनु)
- दूधको मुन्टो भित्र पस्नु
- दूधको मुन्टो दुख्नु
- छालामा परिवर्तन : चाला देखिनु, छालामा मसिना खोबिल्टा पर्नु तथा राता डाब्रा देखा पर्नु
- अन्यत्र फैलेको लक्षण : हाडको दुखाई, जण्डिश, श्वासप्रश्वास छिटो हुनु, लिम्फ ग्रन्थीहरु सुन्निनु
रोग निदान :
स्तन क्यान्सर हो कि होइन भनेर छुट्याउने पहिलो जाँच भनेको स्वयंद्वारा गरिने नियमित स्तन परीक्षण एवं वार्षिक रुपमा म्यामोग्राफी जाँच हुन् । यी जाँचहरु भनेका प्रारम्भिक जाँच हुन् जसबाट स्तन क्यान्सरका शुरुका संकेतहरु प्राप्त देख्न सकिन्छ । यी जाँचले स्तन क्यान्सरको पुष्टि गरे भने सुनिश्चित हुनका लागि थप जाँचहरु गर्नु आवश्यक हुन्छ ।
प्रारम्भिक जाँचहरु :
- स्वयंद्वारा गरिने स्तन परीक्षण : रजस्वला हुन शुरु भए पछि हरेक महिलाले नियमित रुपमा आफ्नो स्तनको स्वयंद्वारा छामेर गाँठो (गिर्खो) भए नभएको, मुन्टो भित्र दबे नदबेको, घाँटी तथा काखीमा स्थित लिम्फनोडहरु सुन्निए नसुन्निएको जाँच गर्नु पर्छ ।
- म्यामोग्राम : विशेष खालको एक्स रे द्वारा स्तनको चित्र लिएर स्तनमा अवाञ्छित गाँठा, गिर्खा आदि भए नभएको जाँच गरिन्छ । यो परीक्षण सामान्यतया ४० वर्ष काटेका महिलामा गरिन्छ र वार्षिक रुपमा परीक्षण गर्ने सल्लाह दिइन्छ ।
- अन्य : देखा परेको गाँठो सिस्टिक हो वा अन्य हो भन्ने जाँच गर्न अल्ट्रासाउण्ड को सहायता लिइन्छ । अझै विस्तारमा जान्न परेको खण्डमा MRIजाँच आवश्यक हुन्छ ।
स्तनमा गाँठो फेला पर्यो भने तपाईंले तलका मध्ये कुनै एक परीक्षण गरी त्यो गाँठो क्यान्सर हो कि होइन भनेर पत्ता लगाउनु पर्ने हुन्छ :
- रस जाँच : मिहीन सुईले स्तनभित्र रहेको गाँठोबाट तरल पदार्थ निकालेर सूक्ष्मदर्शक यन्त्रद्वारा विश्लेषण गरेर ।
- बायोप्सीद्वारा जाँच : स्तनको गाँठोबाट मांसतन्तुको नमूना निकाली सूक्ष्मदर्शक यन्त्रद्वारा तेसको विश्लेषण गरेर ।
बायोप्सी परीक्षणद्वारा स्तन क्यान्सर हो भन्ने पक्कापक्की भइसके पछि उपचार विधि निर्क्याैल गर्नका लागि थप जाँच (HER2/न्यूरिसेप्टर, ER/PR रिसेप्टर) गरिन्छ । हड्डी को सूक्ष्म परीक्षण, क्यान्सर को स्तन देखि अन्यत्र फैलावट जान्नका लागि PET परीक्षण (जसलाई क्यान्सरको स्तर निर्धारण पनि भनिन्छ) गर्नुपर्ने हुन्छ । चौथो चरण को ब्रेष्ट क्यान्सर भन्नाले स्तनदेखि धेरै टाढा रहेका अंगहरुमा समेत क्यान्सरको फैलावट भएको बुझ्नु पर्छ ।
उपचार :
स्तन क्यान्सरको उपचारमा क्यान्सरको स्थिति (स्तर) र उमेरका आधारमा तलका मध्ये कुनै एक वा बढी विधिहरु उपयोगमा ल्याइन्छन् :
- शल्यक्रिया : शल्यक्रिया गरी स्तनमा रहेको क्यान्सरयुक्त गाँठो मात्र (लम्पेक्टोमी) अथवा पूरै स्तन (मास्टेक्टोमी) लाई फाल्ने काम गरिन्छ ।
- केमोथेरापी (औषधीय चिकित्सा) : केही कडा औषधिको संयुक्त प्रयोग गरेर क्यान्सर कोषहरुलाई मारिन्छ । कहिलेकाहीं यो शल्यक्रिया भन्दा अघि वा पछि प्रयोग गर्नुपर्ने हुन्छ ।
- विकिरण चिकित्सा : एसमा एउटा निर्दिष्ट शक्ति (कडापन) भएको विकिरण को प्रयोग गरेर क्यान्सर का कोषहरु लाई मार्ने काम गरिन्छ । एसलाई पनि शल्यक्रिया भन्दा अघि वा पछि अवस्था हेरेर प्रयोग गर्न सकिन्छ ।
- हर्मोन उपचार : कतिपय स्तन क्यान्सरहरु हर्मोनको गडबडीका कारण पनि हुने हुँदा तेस्ता हर्मोनहरुको गडबडीलाई निष्तेज पार्न हर्मोनकै उपचारद्वारा हर्मोनको अनावश्यक स्राव रोक्न वा आवश्यक हर्मोनको आपूर्ति गर्नुपर्ने हुन्छ ।
स्तन क्यान्सरको उपचार पछि निरन्तर डाक्टरको नियमित संपरीक्षणमा रहिरहनु पर्छ । डाक्टरले आँफूले दिएका औषधि तथा अन्य उपचारबाट उत्पन्न दुष्प्रभावको जाँच गरिरहनु पर्ने हुँदा यो आवश्यक छ । यदि स्तन क्यान्सरको कुनै नौलो लक्षण देखियो भने तुरुन्त डाक्टरलाई देखाउनु पर्छ । समय समयमा म्यामोग्राम गरेर स्तनको अवस्था जाँचिरहनु पर्छ । उपचारका क्रममा तथा पछि पनि सावधानी अपनाई रहनु पर्छ र सिकाइएका व्यायामहरु नियमित रुपमा गरिरहनु पर्छ ।
रोकथाम :
कुनै पनि महिलालाई स्तन क्यान्सर हुने जोखिम रहेको अवस्था छ भने डाक्टरको सल्लाह लिएर क्यान्सर हुन नदिने खालका उपायहरु काे अवलम्बन गरिरहनु पर्छ । तेस्तै वंशमा स्तन क्यान्सर भएको इतिहास छ भने पनि डाक्टरको सल्लाह लिनु जरुरी हुन्छ । क्यान्सरको जोखिमबाट जोगिनका लागि आफ्नो जीवनशैली र खानपानमा पनि सुधार ल्याउनु पर्छ ।