काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताईन।आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उनले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुपर्ने बताईन।
पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्त्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौँ भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको पनि उनले बताईन।मन्त्री शर्माले भनीन ‘हामीले प्राकृतिक रुपमा हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारको हावापानी पाएका छौँ ।
जडीबुटीका हिसाबले धनी छौँ । हाम्रो सभ्यता र संस्कृतिका हिसाबले पनि नेपालमा मानव सभ्यताको विकास भएपछिको अधिकांश समय हाम्रा पुर्खाहरूले यही जडीबुटीकै भरमा रोगब्याधिसँग लडेर स्वस्थ जीवन बाँच्न सके । यस्तो अनुकूल धरातलका बिचमा रहेर पनि हामीले आयुर्वेद स्वास्थ्यको क्षेत्रमा किन विकास गर्न सकेनौँ रु हाम्रा बहुमूल्य जडीबुटी बिदेशीहरुलाई कौडीको मोलमा बेचेर त्यसबाट उत्पादित औषधि वा अन्य वस्तु महँगोमा किनेर प्रयोग गर्नुपर्ने अवस्था किन आयो रु यसको गहिरो समीक्षा हुन जरुरी छ’ ।
पूर्वीय सभ्यताको अङ्ग र पुस्ताको नासोको रूपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा उनले जोड दिईन। उनले भनीन ‘हामीले केही प्रयास त पक्कै गरेका छौँ तर पर्याप्त छैन । आयुर्वेदको संस्थागत सेवा र औषधि उत्पादनमा नेपालको जुन गौरवशाली इतिहास छ, यसलाई अब विविधसँग जोडेर विश्वब्यापीरुपमा यसको पहुँच विस्तार गर्नुपर्छ ।’
आयुर्वेदको विकासका लागि व्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनपर्ने मन्त्री शर्माको जोड छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्त्व दिइएको उल्लेख गर्दै उहाँले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्षमा भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताईन।
सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिँदै नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वछ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा व्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको स्पष्ट पारीन् ।
योबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालमा आयुर्वेदको विकासका लागि हुने लगानीको सरकारले सधैँ स्वागत गर्ने उल्लेख गर्दै मन्त्री शर्माले भनीन– ‘आयुर्वेद तथा जडीबुटी उत्पादन र प्रशोधनको क्षेत्रमा हुने लगानीको स्वागत गर्दै नेपाल सरकार त्यस्ता निकायसँग साझेदारी गर्न तयार छ । आजको यो अन्तर्राष्ट्रिय सम्मेलनबाट पनि नेपाललाई आयुर्वेद क्षेत्रको हब बनाउन उल्लेख्य सहयोग पुग्ने अपेक्षा राखेको छु ।’