चितवन- संसदको गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीको एउटा नारा थियो ‘जनतासँग अस्पताल’ । डा अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ सो नारा तय गर्नुभएको थियो।
बिडम्वना डा.अधिकारीले गत निर्वाचनको क्रममा जित भने हासिल गर्न सक्नुभएन, तर उहाँ निर्वाचनको क्रममा भन्दै हिंडेको नाराले भने यतिवेला सार्थकता पाएको छ ।
डा.अधिकारी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै निर्वाचन क्षेत्रमा जान सुरु गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन मात्रै होईन समग्र चितवनमा नै अभियान सुरु गर्ने क्रमलाई तीव्र पार्नुभएको छ । आज शनिबार नै चितवनको विकट पहाडी क्षेत्रमा पर्ने इच्छाकामना वडा नं ७ भालुमारामा बृहत् स्वास्थ शिविरमा ५ सय २१ जना स्थानियवासी लाभान्वित भएका थिए ।
अभियानको क्रममा यसअघि माडीको हनुमानझुलामा बृहद एकीकृत स्वास्थ शिविर सम्पन्न गर्दा झण्डै ५ सय १४ जना लाभान्वित भएका थिए । सो अवसरमा ९ विद्याका चिकित्सकहरु र स्वास्थ्यकर्मीले विरामीको जाँच गर्नुभएको थियो।
“जनतासंग अस्पताल“अभियानका अभियान्ता डा डा भोजराज अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा स्वास्थ्यशिविर गरिएको जानकारी दिनुभयो ।
डा.अधिकारी केही महिना अगाडिदेखि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै ग्रामीण क्षेत्रमा जान सुरु गर्नुभएको यो दोश्रो अभियान हो । उहाँले इच्छाकामनाको वडा नं ७ भालुमारा क्षेत्रमा पनि दम, सुगर, प्रेसर आदिका विरामी बढि भएको बताउनुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताउनुभयो ।
स्वास्थ्य शिविरमा सेवा लिन आउनुभएका स्थानीय जुल्फे थापा मगरले यसरी गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा गाउँलेहरु निकै खुशी भएको बताउनुभयो। त्यस्तै सेवाग्राही लक्ष्मण तामाङ निरन्तर बिरामी पर्दा समेत भरतपुर जान नसकिरहेको उल्लेख गर्दै गाउँमै डाक्टर पुगेर जाँच्न पाएकोमा दङ्ग हुनुहुन्थ्यो ।
स्थानीयले यस्ता स्वास्थ्य शिविर सरकारी तहबाटै नियमित गर्न अनुरोध समेत गरेका छन्। स्वास्थ्य जाँच गरी औषधी आवश्यक पर्ने बिरामीको लागि ३ महिनाको औषधी निशुल्क वितरण गरिएको थियो । सबै बिरामीको रगत र पिसाब तत्कालै परीक्षण गरिएको शिविरमा आवश्यक विरामीको भिडियो एक्स-रे समेत गरिएको थियो ।
पाठेघरको मुख क्यान्सर सम्बन्धी परिक्षण ४८ जना १२ जनामा क्यान्सर पोजेटिभ र उच्च रक्तचापका ७५ जना देखिएको छ । १४ जनाको थप उपचारका लागि रिफर समेत गरिएको नेकपा माओवादी चितवनका नेता एवंम् जिल्ला सचिव द्रोण शिवाकोटीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी चितवनका नेता एवंम् जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले जनतासँग गरेका वाचा पूरा गर्न हरेक क्षेत्रले फिल्ड मै खटिएर काम गरिरहेको बताउनुभयो ।