काठमाडौं। काभ्रेको बनेपा-५ मा रहेको शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले क्यान्सर रोगको उपचार सेवा शुभारम्भ गरेको छ । काभ्रे तथा आसपासका जिल्लाका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उदेश्यले बनेपामा क्यान्सर रोगको उपचार सेवा शुभारम्भ गरिएको अस्पतालले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रुपमा सेवा शुभारम्भको घोषणा गरेका हुन् ।
समन्वय समिति प्रमुख दिपकुमार गौतमले क्यान्सर महामारीका रुपमा फैलिएकाले त्यसको उपचारमा नागरिकहरुले ब्यहोरिरहेको असहजतालाई सहज बनाउन शिर मेमोरियल अस्पतालमा शुरु भएको क्यान्सर रोगको उपचार सेवालाई गुणस्तरीय र आम नागरिकको पहुँचमा पुर्याउन समन्वय गर्ने बताए ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगर क्षेत्रका मात्रै नभई जिल्ला भित्रका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजताका लागि अस्पतालले शुरु गरेको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट सहजिकरण गरिने बताए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले अस्पतालले सेवामा सहजता प्रदान गर्ने उदेश्यले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि जनचेतना फैलाउने गरी सेवा विस्तार गरिएको बताए ।
कार्यक्रममा क्यान्सर रोगका सर्जन डा. पुष्प खर्रवुजाले अस्पतालले दुई महिनाको अवधीमा ६ वटा जटिल प्रकारका क्यान्सर रोगका विरामीको शल्यक्रिया गरेको बताए ।
नेपालमा बार्षिक १४ हजार नागरिकको क्यान्सर रोगका कारण निधन हुने गरेको छ भने बार्षिक २० हजार भन्दा धेरैलाई क्यान्सर रोगबाट संक्रमित हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
कार्यक्रममा उपप्रमुख विमला सापकोटा, सकारात्मक सोचका अभियान्ता कर्ण शाक्य, अस्पतालका विभिन्न विभागका प्रमुखहरु, स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख अनिता खनाल, वडा अध्यक्ष बलराम अधिकारी लगायतले अस्पतालका बारेमा जानकारी गराएका थियो ।