काठमाडौँ- रोजगारी गर्न बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका निम्ति छनोट भएका छन्। वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका निम्ति छानेको हो। पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा १०० नर्स पठाउने योजना छ। तर, मापदण्ड र योग्यताका आधारमा ७१ जनाको मात्र अनलाइन फाराम स्वीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
प्रारम्भिक सूचीमा परेकाहरूको अन्तर्वार्ता आउँदो डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने विभागले जनाएको छ। अन्तर्वार्ता श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरका प्रतिनिधिमार्फत ब्रिटिस काउन्सिलमा लिइनेछ।
जीटुजीमार्फत नेपालबाट जाने नर्सले यूके सरकारको मातहतमा पहिलो तीन महिना असिस्टेन्ट हेल्थ केयरगिभर (ब्यान्ड ४)का रूपमा काम गर्नुपर्नेछ। उक्त अवधिमा सातामा ३७ घण्टा काम गरेबापत उनीहरूले प्रतिमहिना दुई हजार २९९ पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउनेछन्।
तीन महिनापछि भने यूकेको नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस) दर्ता हुन परीक्षा दिनुपर्नेछ। सो परीक्षामा उत्तीर्ण भएपश्चात् ब्यान्ड ५ का रूपमा प्रतिमहिना दुई हजार ३६७ पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउने श्रम मन्त्रालयका उपसचिव डम्बरबहादुर सुनुवारले जानकारी दिए।
पाइलट प्रोजेक्टको विश्लेषणका आधारमा अर्को ‘लट’मा कति, कहिले र कसरी स्वास्थ्यकर्मी पठाउने भन्ने निर्धारण हुने मन्त्रालयले जनाएको छ।
नेपाल नर्सिङ परिषद्को तथ्याङ्क अनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएकामा करिब ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको तथ्याङ्क छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् ।