काठमाडौँ। विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीचमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
आगलागीमा परी विराटनगर वडा नं. ६ का दीपक मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । उनले अर्का एक जनाको कवाडी गोदाममा नै मृत्यु भएको र उनको पहिचान नखुलेको बताए ।
दिउँसो करिब डेढ बजे परफ्युमको बट्टा फुटाल्ने क्रममा कवाडीमा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदार किशोर पासमानले बताए ।
आगलागी शुरु भएपछि बाहिरका केही मानिस आएर आफुहरुलाई उद्धार गरी अस्पताल लगेको पासमानले जानकारी दिए ।आगलागीमा परेका दीपक मण्डलको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
आगलागीमा घाइते अन्य ३ जना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोशी अस्पतालमा उपचार भइरहेकेा छ ।
न्यूरो अस्पतालमा उपचाररत दुई जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई राजधानी काठमाण्डौँ लैजाने तयारी गरिएको प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
करिब २ घण्टा पछि आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैँचाको एक एक गरी ४ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।