आखिर किन हुन्छ पढाइप्रति एकाग्रता भङग ? भनिन्छ मन धेरै चञ्चल हुन्छ । मनमा धेरै कुराहरू अनायास आउने र जाने गरेको कुरा तपाईंहरूले पनि अनुभव गर्नु नै भएको होला। यस्तो परिस्थितिमा कुनै पनि कुरा वा विषयमाथि ध्यान एकाग्र गर्न वास्तवमा अति नै कठिन हुन्छ। तपाईं अहिले विद्यालयमा पढ्दै हुनुहुन्छ। यसकारण पनि तपाईंको मनमा धेरै प्रश्नहरू खासगरी पढ्ने बेलामा उठ्ने गरेको होला। जस्तै, विद्यालयमा फलानोले किन यस्तो कुरा भन्यो ? शिक्षकले किन सबै विद्यार्थीहरूलाई हप्काउनुभयो ? मसँग नै शिक्षकले धेरै प्रश्न किन सोध्नुहुन्छ ? साथीले लिएको भिडियो गेम कति राम्रो छ ? हिजो टेलिभिजनमा देखाइएको सिरियलमा कसले हत्या गरेको होला ? आजको क्रिकेट मैच हेर्नु नै पर्छ। यस्ता अनेकौं कुराहरू पढ्ने बेला विद्यार्थीहरूको मनमस्तिष्कमा उठ्ने गरेको मैले पनि अनुभव गरेको छु।
शिक्षाविद् र बाल मनोवैज्ञानिकहरूले पढाइमा ध्यान एकाग्र गर्न नसक्नुको पछाडि तपाईंको उमेर पनि एउटा कारण रहेको हुन्छ। वास्तवमा मनोवैज्ञानिकहरूले भनेका छन्, “सातदेखि चौध वर्षको उमेर समूहका केटाकेटीहरूको मस्तिष्क एउटा “इम्प्रेशनेबल माइन्ड” हुन्छ। अर्थात् यस उमेर समूहका केटाकेटीहरूमाथि कुनै पनि कुराको असर धेरै चाँडो र बढी पर्ने गर्दछ। यसकारण उनीहरूलाई पढ्ने बेलामा ध्यान एकाग्र गर्न गार्हो हुन्छ। हुनत ध्यान भङग हुने अनेकौं कारणहरू छन्। जस्तै पढाइको गलत तरिका, सही दिनचर्या नहुनु, सन्तुलित आहार नखानु, अतिरिक्त क्रियाकलाप अर्थात् खेलकुदमा भाग नलिनु आदि।
वैज्ञानिक सर आइजेक न्यूटनले एकपटक भनेका थिए, यदि कसैले मसँग मेरो सफलताको रहस्य सोध्छ भने म उसलाई आफ्नो एकाग्रतालाई बलियो बनाउन सल्लाह दिन्छु। न्यूटनले यस्तो भन्नुको पछाडि एकाग्रता नै सफलता सिंढी हो। एकाग्रताले नै उनी आज विश्वप्रसिद्ध वैज्ञानिकको रूपमा चिनिन्छन् । न्यूटनको एकाग्रता बलियो हुन सक्दछ भने तपाईंको किन हुन सक्दैन ? तर यो तपाईंको बलियो आत्मबलले मात्र सम्भव हुन सक्छ। एकाग्रता बढाउनुमा तपाईंको आत्मबल अर्थात् “इच्छाशक्ति” को बढी भूमिका हुने विशेषज्ञहरूले ठहर गरेका छन्। यसकारण एकाग्रता बढाउने जति पनि उपायहरू छन्, त्यो तपाईंको इच्छाशक्ति बलियो भयो भने मात्र सफल हुन्छ।
अब प्रश्न उठ्दछ पढाइमा एकाग्र हुनका लागि के के गर्नुपर्छ ? यसका लागि सबैभन्दा पहिला आफ्नो खाजा वा खानामा काब्रोहाइड्रेट, प्रोटिन र फाइबरयुक्त खाद्यपदार्थहरू जस्तै: रोटी, फलफूल, हरियो सागसब्जी आदि बढी मात्रामा खानुपर्छ। यसको साथसाथै साइक्लिङ, स्वीमिङ वा जगिङ गर्नाले पनि तपाईंको आत्मबल र एकाग्रतामा वृद्धि हुन सक्छ। दैनिक आठ घण्टा सही सुत्नाले पनि एकाग्रतामा वृद्धि हुन्छ। नियमित सन्तुलित कार्यतालिका अनुसार कार्य गर्नाले पनि पढाइमा एकाग्र हुन सघाउ पुर्याउँछ। पढाइको बेलामा केही खाने इच्छा, साथीलाई फोन गर्ने चाहना, सीरियल हेर्ने चाहना आदिलाई त्याग्नु नै वेश हुन्छ ।
एकाग्रताको अर्थ कुनै पनि कार्य गर्दा पूर्ण ध्यान लगाउनु हो। यदि तपाईं एकाग्रताको मार्गमा आउने व्यवधानहरूसँग बच्न चाहनुहुन्छ भने तपाईंले धेरै ठूलो कार्य पनि गर्नुपर्दैन। यस क्षमतालाई सजिलै सिखेर विकसित गर्न सकिन्छ। सर्वप्रथम किताबलाई उल्टो गरेर शब्दहरूमाथि औंला राखेर पढ्ने अभ्यास गर्नुपर्छ। प्रारम्भमा यसरी पढ्न अलिकति गार्हो हुन्छ तर लगातारको अभ्यासले सजिलै पढ्न सकिन्छ। यसरी पढ्दा चञ्चल मन मस्तिष्क नियन्त्रणमा हुनुको साथै सजिलै पढाइमा ध्यान केन्द्रित गर्न सकिन्छ।
नियमित ध्यान गर्नाले पनि पढाइमा एकाग्र हुन मदत पुर्याउँछ। ध्यान गर्नको लागि तपाईंले आफ्नो ध्यान अरू कुराहरूबाट हटाएर सास लिने र छाड्ने प्रक्रियामाथि दसदेखि पन्ध्र मिनेटसम्म ध्यान लगाउनुपर्छ। ध्यान गर्नको लागि कुनै विशेष मुद्राको पनि आवश्यकता पर्दैन। कहीं बसेर सासमाथि ध्यान लगाउन सकिन्छ। केही दिनको अभ्यास मात्रले तपाईंभित्र एउटा नयाँ ऊर्जा उत्पन्न भएको अनुभूति हुनेछ। रिस, राग, द्वेषको अन्त्य हुनुको साथै तपाईंको ध्यान शतप्रतिशत पढाइमा केन्द्रित हुन्छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा बताइएको मस्तिष्कलाई शान्त राख्ने तरिकाबाट पनि पढाइमा एकाग्र हुन सकिन्छ । यसका लागि निधारको बीचमा त्यस वस्तुको कल्पना गर्नुहोस्, जसले तपाईंलाई प्रेरणा प्रदान गर्दछ। त्यसपछि “म शान्त छु, म हरेकसँग प्रेम गर्दछु, म खुशी छु” जस्ता वाक्यहरूलाई प्रत्येक दिन पटक–पटक दोहोर्याउनुहोस्। यसले तपाईंको मस्तिष्कलाई शान्त राख्न मदत पुर्याउँछ । एउटा शान्त मस्तिष्कले विषयमाथि एकाग्र हुन र नकारात्मक विचार र बानीबाट छुटकारा दिलाउन मदत गर्दछ ।
यसबाहेक एउटा शान्त कोठामा बलिरहेको मैनबत्तीदेखि सुरक्षित दूरीमा बसेर सयदेखि एकसम्म उल्टो गन्ती गन्नुहोस्। गन्ती भङग भएमा पुन: सुरुदेखि प्रारम्भ गर्नुहोस्। यसो गर्नाले तपाईं आफ्नो विचारलाई एक ठाउँमा राख्न सफल हुनुहुन्छ। एकाग्रताको वास्तविक अर्थ आफ्नो सम्पूर्ण ध्यानलाई एउटा निश्चित समयका लागि कुनै खास विषयमाथि लगाउनु हो। एउटा विषयलाई एक घण्टाभन्दा बढी नपढ्नुहोस्। यदि पढ्नु नै पर्यो भने बीचमा एउटा सानो ब्रेक लिनु वा एक गिलास पानी पिउनु राम्रो हुनेछ।
विद्यार्थीहरूले राति सुत्न जाँदा एकछिन आफ्नो मस्तिष्कमा चलिरहेको सबै विचारहरूलाई सुत्नुपूर्व बाहिर निकाल्ने कोशिश गर्नुपर्छ। यसो गर्दा तपाईंलाई बडो मीठो निद्रा लाग्छ भने अर्कोतिर तपाईंको एकाग्रता पनि बढ्छ । बिहान उठेर तुरून्त काममा लाग्नुभन्दा एकछिन ओछ्यानमैं बस्नुपर्छ। अध्ययन गर्दा किताबमैं लाइन कोर्नुको साटो कापीमा छाडिएको मार्जिनमा उक्त महत्त्वपूर्ण कुरा नोट गर्नुपर्छ। एकपटक पढिसकेपछि त्यसलाई कापीमा लेख्नुपर्छ । यसरी नियमितको अध्ययन र परिश्रमले पढाइमा सुधार ल्याउन सकिन्छ। किनभने सफलता आत्मविश्वास र लगातार परिश्रमको परिणाम हो।
बेकनले भनेका छन्,“बुद्धिमान मानिसलाई जति अवसर प्राप्त हुन्छ, त्यसभन्दा बढी उसले स्वयं उत्पन्न गर्छ ।” त्यसकारण तपाईं कसरी पढाइमा आफ्नो ध्यान एकाग्र गर्नुहुन्छ यो तपाईंमाथि निर्भर छ । मनोवैज्ञानिकका अनुसार हाम्रो मस्तिष्कले हाम्रो शरीरलाई नियन्त्रित गर्दछ। यसकारण मस्तिष्कलाई स्वस्थ राख्ने हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। यदि तपाईं आफ्नो पढाइप्रति सन्तुष्ट हुनुहुँदैन त्यसलाई दोहोर्याएर केही फाइदा हुँदैन । एउटा नयाँ लक्ष्य लिएर अगाडि बढ्नुहोस् । सधैं नयाँ–नयाँ कुराहरूका लागि आफ्नो मस्तिष्कमा ठाउँ बनाउनुहोस्। हरेक मानिसमा एकाग्रताको क्षमता भिन्न–भिन्न हुन्छ तर सही तरिकाले एकाग्र हुने योग्यताले मानिस अवश्य सफल हुन्छ। मलाई विश्वास छ तपाईंले आफ्नो जीवनलाई एउटा नयाँ दिशा प्रदान गर्न सक्नुहुन्छ।