काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (बिष सूचना केन्द्र ) को उदघाटन गरेका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको पोइजन सूचना केन्द्रको उद्घाटन गर्दै बीष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरेको स्वास्थ्यमन्त्री बस्नेतले बताए।
त्रिवि शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त पोइजन सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नेपालमा बीष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले प्रशंसनिय काम गरेको बताए । साथै त्रिवि शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनिय काम गरिरहेको भन्दै विपन्नको उपचारलाई अझ प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।
देशका ७ सय ५३ वटै पालिकाका स्वास्थ्य केन्द्र बनाउने उद्देश्यले एकै साथ सिलान्यास गरिए पनि त्यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका बिषयमा नसोचेकाले अहिले जनशक्तिको समस्या देखिएको मन्त्री बस्नेतले बताए । आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि स्वास्थ्य क्षेत्र सुधारका विभिन्न योजनासँगै स्वास्थ्यमा जनशक्ति थप गर्ने योजनालाई उच्च प्राथमिकता दिएकाले निकट भविश्यमा स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न लागेको बस्नेतको दावी रहेको छ ।
नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिसतसम्म बीष सेवन गरेर हुने गरेको जानकारी दिए । साथै यस केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने जानकारी दिए ।
साथै कार्यक्रममा बोल्दै डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताए । उनले बीष सेवन पछिको उपचारका बिषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नेपालको पहिलो सेन्टर भएको दावी गरे ।
उक्त कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा. दीव्या सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दीनेश काफ्लेको पनि उपस्थिति रहेको थियो ।