जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य हो । समयभन्दा पहिले जन्मिएका शिशुमा त यो झन् सामान्य हो । नवजात शिशुलाई जन्मेको दुई–तीन दिनभित्र जन्डिस हुन सक्छ । केही शिशुमा जन्मेको एकदेखि दुई हप्ताभित्र यो आफैं निको हुन्छ भने केहीमा फैलिँदै जान्छ । तर, कहिलेकाहीँ जन्डिस अन्य रोगहरूको पनि सङ्केत हुन सक्छ । अधिकांश नवजात शिशुमा केही न केही मात्रामा जन्डिस देखापर्छ । प्रायः जन्मेकोे १ देखि ३ दिनभित्र यो देखापर्छ र ४ देखि ५ दिनसम्म बढ्दै जान्छ । १ देखि २ हप्ताभित्र जन्डिसको लक्षण हराएमा यसलाई सामान्य जन्डिस भनेर बुझ्न सकिन्छ । यस्तोमा शिशुको अनुहारमा पहेँलो देखिन्छ । अनुहारमा मात्र देखिने जन्डिस गम्भीर प्रकृतिको नहुन सक्छ । तर, हत्केला र पैतालातिर पनि पहेँलो देखिन थाल्यो भने गम्भीर रूपमा लिनुपर्छ ।
गर्भमै जन्डिस हुँदैन, शिशु जन्मिएपछि मात्र हुने हो । यस्तो जन्डिस प्रायः बच्चा जन्मिएको २४ घण्टापछि देखा पर्छ ।
नवजात शिशुमा धेरै मात्रामा बिलिरुविन बन्ने भएकोले जन्डिस देखिने गर्छ ।
रातो रक्तकोष टुक्रिएर बिलिरुविन बन्छ । यसलाई कलेजोले राम्ररी हटाउन नसक्दा जन्डिस देखापर्छ ।
जन्डिस भएमा के हुन्छ ?
सामान्य किसिमको जन्डिस कुनै असर नगरी आफैँ हराएर जान्छ ।
गम्भीर किसिमको कडा जन्डिस भएमा शिशुको कलेजो खराब हुने, शिशुको मस्तिष्कमा गम्भीर असर पर्ने, कालान्तरमा शारीरिक तथा मानसिक सुस्तता आउने र शिशुको मृत्युसमेत हुन सक्छ ।
कस्ता शिशु जोखिममा हुन सक्छन ?
समय नपुगी (३७ हप्ताअगावै) जन्मेका कम तौल भएका शिशुमा यस्तो जोखिम हुन्छ ।
पर्याप्त मात्रामा स्तनपान गर्न नसकेका शिशुमा पनि जोखिम रहन्छ ।
रगतको समूह आमाको भन्दा फरक भएका शिशुमा पनि जोखिम देखिन सक्छ । शिशुलाई संक्रमण भएमा पनि यस्तो हुन्छ ।
शिशुमा आन्तरिक रक्तश्राव भएमा वा जन्मजात अन्य समस्या भएमा जोखिम रहन्छ ।
के कारणले जन्डिस हुन्छ ?
कलेजोले रगतबाट ‘बिलिरुबिन’ सफा गर्ने काम गर्छ तर कलेजोको राम्रोसँग विकास नभएका बालबालिकालाई बिलिरुबिन फिल्टर गर्न समस्या हुन्छ । त्यस्ता बालबालिकाको शरीरमा बिलिरुबिनको मात्रा बढ्दै जान्छ र जन्डिसको समस्या देखा पर्छ । समयअगावै जन्मिएका शिशु, पर्याप्त स्तन दूध वा फर्मुला नपाएका बच्चाहरू, पहिलो बच्चामा जन्डिस देखा परेको छ भने दोस्रो बच्चामा पनि देखिने सम्भावना हुन्छ ।
आमाको रगत समूहसँग मिल्दोजुल्दो नभएका बच्चालाई नवजात जन्डिसको जोखिम बढी हुन्छ । यसबाहेक नवजात शिशुमा कलेजोमा समस्या, संक्रमण, इन्जाइमको कमी र बच्चाको रातो रक्त कोषिकामा असामान्यताका कारण पनि जन्डिस हुने गर्छ ।
शिशुलाई जन्डिस हुँदा आमालाई पनि हुन्छ ?
शिशुलाई जन्डिस हुँदा आमालाई जन्डिस हुँदैन । शिशुलाई जन्डिस हुँदा आमाले खाना बार्नुपर्छ भन्ने भ्रम पनि छ । तर शिशुलाई जन्डिस हुँदा आमाले खाना पनि बार्नु पर्दैन ।
जन्मजात जन्डिस हुँदा उनीहरूलाई कुनै दीर्घकालीन समस्या हुन्छ ?
जन्मजात जन्डिस हुँदा शिशुलाई कुनै दीर्घकालीन समस्या हुँदैन । तर कुनै बच्चाको जन्डिस एकदमै बढी भएर त्यो मस्तिष्कसम्म पुग्यो भने त्यसले गर्दा मस्तिष्कघात हुने छारेरोग लाग्ने सम्भावना हुन्छ । समयमै उपचार भयो भने यस्तो सम्भावना पनि हुँदैन ।
लक्षण
शिशुको अनुहारको छाला तथा आँखा पहेँलो हुनु जन्डिसको पहिलो लक्षण हो । यो अनुहारबाट सुरु हुँदै,घाँटी, छाती, पेट, हत्केला र पैतालासम्म पुग्न सक्छ । यसरी फैलिएमा गम्भीर अवस्था भनेर बुझ्नुपर्छ । स्वास्थ्यसंस्थामा गई बिलिरुविन जाँच गराएर जन्डिसको अवस्था पत्ता लगाउन सकिन्छ ।
शिशुलाई जन्डिस भएपछि कसरी स्याहारसुसार गर्ने ?
शिशुलाई सामान्य जन्डिस भएको छ भने ३० मिनेटदेखि ४५ मिनेट सबै लुगा खोलेर घाममा राख्नुपर्छ । बच्चालाई इन्फेक्सनबाट बचाउनुपर्छ । उनीहरूलाई आमाको दूध राम्ररी खान दिनुपर्छ । बच्चाको दिसा पिसाब पनि राम्ररी भएको हुनुपर्छ । किनकि यो जन्डिस दिसा पिसाबमार्फत बाहिर निस्किएर जान्छ र बिस्तारै कम हुँदै जान्छ ।
औषधि उपचार कसरी गर्ने ?
नवजात शिशुमा भएको जन्डिसको उपचार सम्भव छ । धेरै फैलिएको छैन भने यो आफैं निको हुन्छ । तर फैलिंदै गयो भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ । जन्डिस फैलिरहेको छ भने ‘फेटो थेरापी’ सेक्ने विधिमार्फत उपचार गरिन्छ । यो उपचारबाट पनि जन्डिस फैलिन रोकिएन भने रगत नै फेरेर उपचार गर्नुपर्ने हुन्छ ।
रोकथामका उपाय
गर्भावस्थामा आमाको रगतको समूहको परीक्षण गर्नुपर्छ ।
गर्भावस्थामा आमाले यथेष्ठ पौष्टिक आहार खानुपर्छ । जसले गर्दा स्वस्थ र सामान्य तौलको शिशु जन्मने सम्भावना बढ्छ ।
जन्मपश्चात् शिशुलाई दिनमा १० देखि १२ पटकसम्म स्तनपान गराउने गर्नुपर्छ ।
शिशुको उपचार कसरी गर्ने ?
घरमै न्यानो बनाएर राख्ने, पटक–पटक प्रशस्त मात्रामा स्तनपान गराउने । बिहानको कलिलो नपोल्ने घाममा १ वा २ घन्टा राख्ने । यसो गर्दा उज्यालो किरणले बिलिरुविन टुक्रिएर शरीरबाट बाहिरिन्छ । जन्मेको २४ घन्टाभित्र हत्केला वा पैतालासम्मै फैलिएर पहेँलो हुँदै गएमा तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
डा. सँगको कुराकानीमा आधारित