काठमाडौँ। ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नाराका साथ आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइने गरिन्छ । स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले सबै मानिसको आफूले चाहेको बेला, चाहेको ठाउँमा कुनै आर्थिक कठिनाइबिना आफूलाई चाहिएका सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुनु भन्ने हो ।
स्वास्थ्य सेवा विभाग ,उपचारात्मक सेवा महाशाखाअन्तर्गतको आधारभूत स्वास्थ्य व्यवस्थापन शाखा प्रमुख डा पोमावति थापाले दिवसका अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि अहिलेसम्मको प्रगति समीक्षा, आगामी योजना र जनतामा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
सर्वव्यापी पहुँचका लागि सरकारको प्रयास भनेको प्रत्येक व्यक्तिको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा स्वास्थ्य चौकीदेखि प्रत्येक पालिकामा अस्पतालको व्यवस्था हुन हो ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि सरकारले गरिब, विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, हिंसापीडित, द्वन्द्वपीडित, दीर्घ रोगका बिरामीलाई सहुलियत, निःशुल्क डायलायसिस, विद्यालय नर्स लगायतका सबैका लागि स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कोष जस्तै कार्यक्रम गरेको छ । तर यस बाट दुर्गम क्षेत्रमा बसोबास गर्ने, लाभका अवसरबाट पछि परेका र सङ्कटासन्न अवस्थामा रहेका विभिन्न समूहको हकमा स्वास्थ्य सेवा पहुँचमा असमानता रहनु मुख्य चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउ छन ।