परिचय
हामीले फोक्सोबाट लिएको अक्सिजन रगतको नशा नशासम्म जाने गर्छ । हामीले सास लिँदा अक्सिजन लिने गर्छौं भने कार्बनडाइअक्साइ फाल्ने गर्र्छौ । वास्तमा भन्नुपर्दा अक्सिजन जाने बाटो फोक्सो हो । फोक्सो बाहिरी अंगसँग कनेक्सन भएको एक मात्र अंग हो । हामीले सास फेर्दा लिएको धुवाँ, धुलो लगायतका सम्पूर्ण पदार्थहरु फोक्सो मार्फत् भित्र जाने गर्छ । सास फेर्दा लिइएको खराब प्रकारको रसायनहरुले फोक्सोलाई हानी गराउँछ । यसरी सास फेर्दा लिइएको खराब प्रकारका रसायनहरुले फोक्सोलाई असर गर्छ । काठमाडौंको धुलो तथा धुँवाले फोक्सोलाई असर गरिरहेको छ । यस्ता धुलो तथा धुँवाका कारण फोक्सोमा आएको खराबीले लामो समयसम्म औषधि सेवन गर्नुपर्ने अवस्था आउने गर्छ । फोक्सोलाई बचाउनेतर्फ हामीमध्ये धेरैको ध्यान जान सकेको छैन ।
फोक्सोको क्यान्सर के हो ?
फोक्सो बाहिरी वातावरणसँग सम्बन्धित अंग भएकोले सास फेर्दा लिएको धुलो, धुँवा लगायतका खराब पदार्थहरुले फोक्सोमा असर गरिरहेको हुन्छ । जसका कारण लाग्ने विभिन्न डरलाग्दा रोगहरुमध्येको फोक्सोको क्यान्सर एक हो । कोलोन, प्रोस्टेट तथा स्तन क्यान्सरबाट हुने मृत्युभन्दा बढी फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । नेपालमा स्तन तथा फोक्सोको क्यान्सरबाट महिलाहरुमा हुने मृत्युदर उच्च छ । विदेशमा पनि फोक्सोको क्यान्सर भएका ३० प्रतिशत बिरामीहरुको मात्रै समयमा नै उपचार हुने गरेको छ । नेपालको कुरा गर्नुपर्दो फोक्सोको क्यान्सर भएका ९५ प्रतिशत बिरामीहरु समयमा अस्पताल आउने गरेका छैनन् । अधिकांश बिरामीहरु तेस्रो वा चौथो चरणमा मात्रै अस्पताल आइपुग्छन् ।
फोक्सोको क्यान्सरको मुख्य कारण के-के हुन ?
फोक्सोको क्यान्सरको मुख्य कारणका रुपमा चुरोट बिडी, खैनी लगायत सूर्तीजन्य पदार्थलाई लिइन्छ । विदेशतिर सूर्तीजन्य पदार्थको खरिद बिक्रीमा कर बढाउँदा फोक्सोको क्यान्सर घटेको विभिन्न तथ्यांकले देखाएको छ । कम मुल्यमा नै सूर्तीजन्य पदार्थको सेवन गर्न पाउँदा त्यसको प्रयोगकर्ता बढ्ने सम्भावना रहन्छ । यसका साथै अज्ञानताका कारण धेरै मानिसहरुमा फोक्सोको क्यान्सर हुने सम्भावना बढ्छ । लगतारको खोकी, खोकी पश्चात् रगत देखा पर्नु तथा समयमै उपचारमा जानुपर्छ भन्ने ज्ञानको अभावमा धेरै मानिसहरु फोक्सोको क्यान्सरको रोगी बन्न पुग्छन् । अन्तिम अवस्थामा अस्पतालमा आइपुग्दा धेरैको मृत्यु फोक्सोको क्यान्सरका कारण हुने गरेको छ । सूर्तीजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सर हुने सम्भावना बढाउँछ । यद्यपि त्यस्ता पदार्थको सेवन नगर्ने मानिसलाई फोक्सोको क्यान्सर हुँदै हुँदैंन भन्ने चाहि होइन । वंशाणुगत कारणले गर्दो पनि क्यान्सर तथा अन्य कतिपय रोगहरु लाग्ने सम्भावना हुन्छ ।
फोक्सोको क्यान्सर लाग्ने सम्भावना कम गर्नका लागि सरकारले सूर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनु आवश्यक छ । त्यसका साथै जनचेतना बढाएर पनि फोक्सोको क्यान्सरलाई कम गर्न सकिन्छ । जनचेतना बढाउने कार्यमा मिडियाले समेत महत्वपूर्ण भूमिका खेल्न सक्छन् । विदेशमा जस्तो नेपालमा चिकित्सक नै खटाएर सेवा दिन सम्भव नभएकोले नागरिक आफैं सचेत हुन आवश्यक छ । स्वास्थ्यमा कुनै समस्या देखिनासाथ चिकित्सक कहाँ गएर स्वास्थ्य परीक्षण गराउनेतर्फ नागरिक आफैं सचेत हुन आवश्यक छ ।
फोक्सोको क्यान्सर भएको कसरी थाहा पाउने ?
- कफ आउने
- स्याँस्याँ हुने
- छाती दुख्ने
- खकारका साथमा रगत देखिने
- सास लिनमा कठिनाई हुने
- एक्सरे गर्दा छातीमा दाग देखिने
फोक्सोको क्यान्सरको उपचार कुन कुन विधीबाट गरिन्छ ?
सुरुवातको चरणमा पत्ता लगाउन सकेको अवस्थामा फोक्सोको क्यान्सर पूर्णरुपमा नियन्त्रण गर्न सकिन्छ । पहिलो र दोस्रो अवस्थामा पत्ता लागेको क्यान्सरलाई चिरफार गरेर निकाल्न सकिन्छ । पहिलो र दोस्रो अवस्थामा फोक्सोको क्यान्सरको उपचार भएका बिरामीहरुले लामो समयसम्म सहज जीवनयापन गर्न सक्छन् । यद्यपि नेपालजस्तो देशमा ५ प्रतिशत बिरामीहरु मात्रै उपचारका लागि समयमा नै अस्पताल आइपुग्ने गरेका छन् । तेस्रो र चौथो चरणमा उपचारका लागि अस्पताल आइपुगेका बिरामीहरुलाई शल्यक्रिया गर्न सकिदैंन । यद्यपि यस अवस्थामा विकल्प नै छैन भन्ने चाहि होइन किनभने फोक्सोको क्यान्सर विभिन्न प्रकारका हुन्छन्।
एडेनोकार्सिनोमा नामक फोक्सोको क्यान्सर वंशाणुगत कारणले हुने गर्छ । नेपालमा यस प्रकारको क्यान्सरमा हुने वंशाणुगत कारण पत्ता लगाउने प्रविधि समेत उपलब्ध छ ।यसको स्याम्पल भने भारत निर्यात गरिने भएतापनि नेपालबाटै यसको अनुसन्धान भने गर्ने गरिन्छ । यदि जिन परीक्षण पोजेटिभ आएको अवस्थामा औषधि सेवनले पनि चौथो अवस्थामा रहेको यस प्रकारको क्यान्सर निको भएको मेरो उपचार अनुभव छ ।
फोक्सोका क्यान्सरबाट कसरी बँच्ने र?
फोक्सोको क्यान्सरबाट छुटकार पाउनका लागि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ । धुम्रपान नगर्ने , धुम्रपान सम्पर्कमा आउन बाट बच्नु, कार्यस्थलमा कार्सिनोजेन्सजस्ता विषालु रसायनबाट टाढा रहनु । खानामा फल र हरियो सागसब्जी समावेश गर्नु । नियमित व्यायामले लगायतले फोक्सोको क्यान्सर हुनबाट बँच्न सकिन्छ ।