काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दौ दाहालले आफ्नो कामहरुको विवरण र प्रगति रिपोर्ट सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री दाहालले स्वास्थ्यका केही विषयलाई जोडका साथ प्रस्तुत गरेका छन् । उनले सरकारी अस्पतालहरुमा नर्सिङ प्यारामेडिक्स कार्यक्रम विस्तार गर्ने, स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावकारी, सरकारी अस्पतालको सेवा गुणस्तरमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि, प्रयोगशाला लगायतका विषयमा जोड दिएको बताए ।
प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षालाई सस्तो र आम जनताको पहुँचमा पुर्याउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा नर्सिङ, प्यारामेडिक्स लगायतका शैक्षिक कार्यक्रम सञ्चासलनको गृहकार्य भइसकेको जानकारि दिए।
उनले स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र मूल्यांकन संयन्त्र, बिमाको दायरामा वृद्धि र सबैको आबद्धता, हालको रकमको दायरा बढाइने र सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बिमामा आवद्ध गरिने प्रतिबद्धता व्यक्त गरे ।
शहीद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई ५ सय शय्याको अत्याधुनिक अस्पतालका रूपमा विकास गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको पनि उनले बताए ।
प्रादेशिक प्रयोगशालासँगै सरकारी अस्पतालका प्रयोगशालाहरूको शुल्कमा पनि एकरूपता कायम गर्न लागेको बताए।
ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य सेवा सुनिश्चिरत गर्न अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना गरिएको जानकारी दिए ।
सरकारले प्रदान गर्दै आएका अत्यावश्यक औषधिहरूलाई राज्यका तर्फबाट नै उत्पादन गरी औषधिमा आत्मनिर्भर बन्नर नेपाल औषधि लिमिटेडमार्फत पहिलो चरणमा २० प्रकारका औषधि उत्पादनका लागि पूर्वतयारी गरिएको पनि बताए ।