काठमाण्डाै – बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा साेमवार मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत उपलब्ध गराउन पहल गर्ने, दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने उल्लेख छ । शव सम्बन्धित जिल्लामा पुर्याउने व्यवस्था पनि गृह मन्त्रालयले नै गर्ने भएको छ ।
गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे ।
चारबुँदे सहमति यस्तो छ:
१) मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने।
२) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने।
३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने।
४) मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुन्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने।