बाँझोपनको प्रमुख कारणका रूपमा ढिलो विवाह गर्नु रहेको देखिन्छ। नेपालमा यो समस्या पछिल्लो समय एकदमै धेरै बढिरहेको छ । महिला आफ्नो भविष्यको चिन्ता गर्न थाल्छन् । जसले गर्दा विवाह गर्न ढिलो हुन्छ । विवाह भइसकेपछि पनि धेरैजसो जोडी अहिले विदेशतिरै जाने प्रक्रियामा लाग्छन् । जसका कारण भविष्यमा बाँझोपन हुने खतरा धेरै हुन्छ।
बाँझोपन विश्वव्यापी समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४ करोड ८० लाख दम्पती र १८ करोड ६ लाख व्यक्ति बाँझोपनको समस्याबाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतः कुनै पनि गर्भनिरोधक साधनहरूको प्रयोग नगरीकन १२ महिना वा सोभन्दा बढी समयको यौनसम्पर्कपश्चात् पनि गर्भधारण हुन सकेन भने त्यस्तो अवस्थालाई बाँझोपन भनिन्छ ।
बदलिएको जीवनशैली र खानपानले समेत बाँझोपनको समस्या निम्तिन सक्छ । अर्काेतर्फ, विभिन्न यौनरोगहरूका कारणले समेत बाँझोपन हुने गर्छ । नेपाली समाजमा बाँझोपनका कारण महिलाहरू बढी प्रताडित हुने गरेका छन् । खासगरी बच्चा नजन्मनुको दोष महिलालाई लगाउने प्रचलन अहिले पनि विद्यमान छ । बाँझोपनको उपचारका लागि अझै पनि सहज पुहँच उपलब्ध छैन । जसले गर्दा यस्ता समस्या झेल्ने व्यक्ति र जोडीले अनेकौँ आर्थिक तथा मनोवैज्ञानिक समस्या झेल्नुपरिरहेको छ ।
ढिलो विवाहका कारण बाँझोपन
बदलिँदो समयसँगै ढिलो विवाह गर्ने क्रमको बढोत्तरी भइरहेको छ । खासगरी शैक्षिक अध्ययन र करिअर निर्माणलाई केन्द्रमा राख्ने प्रचलनको तीव्रतासँगै विवाह ढिलो हुन थालेको हो । विवाह ढिलो गर्दा बाँझोपनको समस्या बढ्न सक्छ । बाँझोपनका कारण पारिवारिक कलह र तनावलगायतका अनेकौँ मानसिक र सामाजिक समस्याहरूसमेत निम्तिन थालेका छन् ।
महिलाको बीसदेखि तीस वर्षको उमेरमा बच्चा जन्माउने क्षमता उच्च हुन्छ । तर, यो उमेरमा बच्चा नजन्माउँदा बाँझोपनको समस्या निम्तिन सक्छ ।
बाँझोपनको समस्या महिला र पुरुष दुवैमा हुन्छ
यो समस्या महिला पुरुष दुबैमा हुन्छ । पछिल्लो समय गर्भनिरोधक विभिन्न औषधि प्रयोग र असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ । जसका कारण महिलामा बाँझोेपनको समस्या हुनसक्छ । त्यस्तै पुरुष पनि विभिन्न लागूपदार्थ जाँड, रक्सी, चुरोट जस्ता कुलतमा लाग्ने हुदा बाँझोपनको समस्या बढिरहेको पाइन्छ । कतिपय जोडी समयमै विवाह गरेर पनि करियर बनाउनकै लागि भनेर लामो समय टाढा रहन्छन् । जसको कारण बच्चा जन्मिन ढिलो हुन्छ । यसले पछि गएर बाँझोपनको समस्या निम्तिन सक्छ ।
विगतमा नेपाली समाजमा श्रीमान्/श्रीमतीहरू सँगै बस्ने गर्थे । खासगरी कृषि प्रणालीसँग जोडिएको परिवारमा परिवारका सदस्याहरू कमै बाहिर हुन्थे । तर, पछिल्लो समय वैदेशिक रोजगारी र देशभित्र पनि कामका लागि श्रीमान्/श्रीमतीहरू अलग्गै बस्न बाध्य छन् । देशभित्र रहेका श्रीमान्/श्रीमतीबीच महिनामा एकपटक भेट भइगयो भने पनि गर्भ रहने अवस्था निक्कै कम हुने गर्छ ।
उपचार विधि के छ ?
सर्वप्रथम त यस्तो समस्या आउनै नदिने उपाय अपनाउनुपर्छ । समयमै विवाह गर्ने, बच्चा जन्माउन ढिलो नगर्ने, स्वस्थकर खाना खाने, विवाहपछि श्रीमान श्रीमती संगै बस्ने गर्नुपर्दछ । यसलाई एउटा जोडीको शारीरिक, मानसिक र पारिवारिक स्वास्थ्यका रुपमा समेत हेर्नुपर्छ ।