काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ ।
उनले खुसी हुँदै भनिन्, “भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।” अहिले उनको आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन् ।
मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरुलाई अस्पताल पुर्याउन त परै जाओस् बिहान–बेलुका छाक टार्न धौधौ थियो । नेपाल नेत्रज्योति सङ्घले दातृ निकाय सिविएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए । प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए ।
ती प्राविधिक कर्मचारीले शल्यक्रियामार्फत आँखाको दृष्टि फर्किन सक्ने जनाउँदै सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालमा उपचारका लागि तत्काल जान ‘रिफर’ गरिदिएका थिए । मीनाले भनिन, “मैले मेरो दुःखका व्यथा सरहरुलाई सुनाए ।
पैसा नभएर छोराहरुलाई उपचार गर्न अस्पताल लान नसकेको कुराहरु भने । उनले सहयोग गर्ने बताए । छोराहरुलाई लिएर आँखा अस्पताल गए । चिकित्सकले जन्मजात मोतिविन्दु भएकाले शल्यक्रिया गर्नुपर्छ भने ।”
अस्पतालले मीनाको आर्थिक अवस्था कमजोर रहेकाले बिरामीलाई खाने, बस्ने र उपचारका लागि लाग्ने खर्च निःशुल्क गरिदिएको थियो । उनले भने, “चिकित्सकले छोराहरुको संसार हेर्ने दृष्टि फर्काइदिए । उज्यालो संसार देख्न सफल भए ।”
एक महिनाका अवधिमा दुई दाजुभाइको दुईवटै आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । शल्यक्रियामा चिकित्सक पवन श्रेष्ठ लगायतका टोली सम्लग्न भएका थियो ।
मीनाले भनिन्, “परिवारमा खुसी फर्किएको छ । आफ्नो छोराहरु पनि अरू बच्चाहरु जस्तै विद्यालय जान सक्ने हुँदा मन रमाएको छ । आफ्नो दैनिक गतिविधि अन्यको सहायता बिना गर्न सक्ने भएका छन् । आफ्नो बच्चाहरुलाई उज्यालो संसार देखाएर नयाँ जीवन दिन सहयोग गर्ने सबैलाई धन्यवाद छ । भगवान् मैले सोचेजस्तो निष्ठुरी पनि रैनछन् । मेरा छोराहरुलाई उज्यालो संसार देखाइदिनुहुने डाक्टर सापहरुलाई धेरै धेरै धन्यवाद ।”
उनले भनिन्,“छोराहरु हुर्काउन, घरधन्दा, खेतबारीदेखि वस्तुभाउको स्याहारसुसार गर्नमै मेरा दिनहरु बित्दै गए । बच्चा विस्तारै हुर्किंदै गए । हुर्किंदै जाँदा रोग लागेको पत्तै भएन । आफूभन्दा २६ वर्ष जेठो व्यक्तिसँग विवाह भएकोले श्रीमान्लाई बुढ्यौलीले पनि छुँदैगयो । श्रीमान्ले कमाउन नसकेपछि घरबार धान्नेदेखि छाक टार्नेसम्मको जोहो मेरै काँधमा आयो । उपचार गर्नभन्दा परिवार पाल्न ध्यान दिनै पर्यो ।”
सङ्घका पैरवी अधिकृत कृष्ण भट्टराईले सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालले विपन्न आँखा रोगीको निः शुल्क उपचार भैराखेको जानकारी दिए ।