आज माघे संक्रान्ति अर्थात माघ महिनाको पहिलो दिन । माघे संक्रान्तिलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।
आजको दिनबाट सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति पनि भनिएको हो । सुर्यको उदय दक्षिणबाट उत्तरतिर सर्ने भएकोले उत्तरनारायण सुरु हुन्छ । आजको दिनबाट जाडो घट्दै जाने र गर्मी बढदै जाने मान्यता छ ।
माघे संक्रान्ति नेपालभरी विभिन्न पवित्र मठ मन्दिरमा रहेको नदीहरुमा स्नान गरी पूजाआजा गरेर घिउ, चाकु, तिलको लड्डु, उसिनेको तरुल आदि खाने चलन छ । जाडो महिनामा पर्ने यो पर्वमा स्नान गरी यि खानेकुरा खाएमा शरिरमा गर्मीको मात्रा बढेर तागत बढ्ने र शरिरमा तेल लगाउँदा शरिरमा छाला सम्बन्धी अन्य रोगहरु नष्ट हुने विश्वास गरिन्छ ।
यसको पछाडि वैज्ञानिक आधार पनि छ । जाडोको मौसममा शरिरमा गर्मीको आवश्यकता पर्छ । माघे संक्रान्तिमा खाइने खानेकुरामा प्रशस्त मात्रामा पौष्ट्रिक तत्व पाइने भएकाले स्वास्थ्यको हिसाबले पनि निकै राम्रो मानिन्छ ।
माघे संक्रान्तिमा खाईने यस्ता खानेकुरामा शरीरलाई आवश्यक रहेको पौष्टिक तत्वहरू जस्तै कार्बाेहाइड्रेट, चिल्लो, भिटामिन, खनिज तत्व प्रदान गर्छ ।
माघे संक्रान्तिमा खाइने खानेकुरामा क्यालोरिको मात्र बढीहुने भएकोले शरीरमा न्यानोपना प्रदान गर्छ ।
कुन खानेकुराबाट के पाइन्छ ?
माघे संक्रान्तिमा घिउ–चाकु,तरुल,खिचडी, तिलको लड्ड महत्वपूर्ण खाद्य पदार्थ हुन ।संक्रान्तिका दिन प्रसादका रुपमा खाइने तरुल लगायत जाडो मौसममा तरुल निकै लाभदायक मानिन्छ ।
तरुल रेसादार खाद्य पदार्थ हो। यसबाट प्रशस्त मात्रमा फाइवर, प्रोटिन, मिनरलका साथै विभिन्न प्रकारका भिटामिन प्राप्त हुन्छ । कतिपय मानिसले तरुललाई नियमित तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । प्रसस्थमात्र फाइवर हुने भएकाले नियमित खानाले कब्जियतको समस्याबाट बच्न सकिन्छ ।
त्यस्तै शुद्ध घिउले शरीरलाई आवश्यक पर्ने चिल्लो प्रवाह गरी ऊर्जा प्राप्त गर्न मद्दत गर्छ । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ। घिउ–चाकुले शरीरलाई न्यानो प्रदान गर्नुका साथै चिसोबाट लाग्ने रोगबाट बच्न मद्दत गर्छ।
संक्रान्तिमा तिलको लड्डु पनि खाने चलन छ । तिलले शरीरलाई शक्ति प्रदान गर्छ जुन जाडो मौसममा अति स्वस्थकर मानिन्छ। तिलको लड्डुमा फाइबर पाइने भएकोले पाचन प्रक्रियालाई पनि राम्रो गर्छ । तिलको लड्डुमा मल्टिभिटामिन हुने गर्छ। यसबाट आइरन र प्रोटिन पाउनुका साथै शरीरको तापक्रम वृद्धि गर्न मद्धत गर्छ।
मासको दाल, चामल, घिउ मिसाएर बनाइने खिचडी बच्चादेखि वृद्धवृद्धासम्मलाई उपयोगी खाना हो । खिचडी शरीरले सजिलै पचाउन सक्ने भएकाले दैनिक रुपमा पनि बच्चा र वृद्धवृद्धाहरुलाई खुवाउन सकिन्छ। खिचडीबाट प्रशस्त मात्रमा प्रोटिन जस्तै मिनिरल, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ ।