काठमाडौं । चालु आर्थिक बर्ष २०८०र०८१ को ६ महिनामा चितवनमा सवारी दुर्घटनाबाट ५१ जनाको मृत्यु भएको छ भने ३३५ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवको असारदेखि पुस मसान्तको अवधिसम्म १७५ वटा सवारी दुर्घटना भएका थिए । सबैभन्दा बढी सवारी दुर्घटनाबाट मृत्यु पुस महिनामा भएको छ । जसअनुसार पुस महिनामा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु ५६ जना घाइते भएका छन् ।
यस्तै सबैभन्दा कम साउन महिनामा ४ जनाको मृत्यु र ७७ जना घाइते, भदौ महिनामा ६ जनाको मृत्यु, २८ जना घाइते, असोज महिनामा ५ जनाको मृत्यु ६५ जना घाइते, कात्तिक महिनामा ९ जनाको मृत्यु ५८ जना घाइते र मङ्सिर महिनामा १३ जनाको मृत्यु ५१ जना घाइते भएको कार्यालयले जनाएको छ । सो अवधिमा साउन महिनामा १९ वटा, भदौमा २२ वटा, असोजमा १६ वटा, कात्तिकमा ३१ वटा, मंसिरमा ४३ वटा र पुसमा ४४ वटा सवारी साधन दुर्घटना भएका थिए ।
कार्यालयका प्रमुख सुरेश सुबेदीले गत वर्षभन्दा यो चालु आर्थिक वर्षमा सवारी दुर्घटनाबाट मानवीय क्षतिको अनुपात बढेको बताए । “पोहोर एक वर्षमा ७८ जनाको मृत्यु भएको थियो”, उनले भने, “अहिले ६ महिनामानै ५१ जनाको मृत्यु भएको छ ।”
सडक सञ्जाल, सवारी साधनको वृद्धि, तीव्र गति , मापसे, लेन अनुशासन कायम नगर्ने कारणले गर्दा सवारी दुर्घटनासँगै मानवीय क्षति बढेको उनको भनाई छ ।
सडक सञ्जाल विस्तार र सुधार भएसँगै विशेष गरी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको उनले बताए ।